२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

१६ फागुन, गण्डकी । मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । सोमबार नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवस ।

मगरहरू सङ्गठित भएको दिनलाई त्यस समुदायले ‘मगर एकता दिवस’का रूपमा समेत मनाउँदै आएको छ । गण्डकी यसै पनि मगरहरूको थातथलो बढी भएको प्रदेश हो । यहाँको इतिहास, परम्परा र संस्कृतिसँग मगरहरूको साइनो छ ।

सधैँझैँ यसपालि पनि आफ्नो एकता दिवसलाई मगर समुदायले उल्लासपूर्वक मनाएको छ । कतै सांस्कृतिक/खेलकुद मेला भए, कतै औपचारिक समारोह । घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसरका रूपमा पनि मगरहरूले यो दिवसलाई लिन्छन् ।

मगर बाहुल्य भएका गण्डकीका कतिपय स्थानीय तहले त सोमबार सार्वजनिक बिदा नै दिए । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति, कास्कीले पनि पोखरामा सांस्कृतिक कार्यक्रमसहित दिवस मनायो । मगर संस्कृति झल्कने झाँकी, गीत र नाचसँगै निस्केको पदायात्राले सहरका मुख्य क्षेत्र परिक्रमा गरेको थियो ।

जातीय पहिरनमा सजिएका मगरहरू आफ्नो परम्परा झल्काउने वस्तु र सामग्रीसहित झाँकीमा सहभागी भएका थिए । सेखु ओडेका महिलाहरू, हलोजुवासहित झुल्केका पुरुष । गरगहना र वेषभूषामा सजिएका युवायुवती । नेपाली मौलिक संस्कृतिको झल्को मगर दिवसले दिएको थियो । पहाडे वास्तु झल्काउने परम्परागत नमूना घरले पनि झाँकीमा आकर्षण थपेको थियो । कोही पञ्चेबाजामा नाचिरहेका थिए, कोही कौरामा । कतै सोरठी गुञ्जिरहेको थियो, कतै यानीमाया ।

झाँकी प्रदर्शनीपछि पोखरा–१० मा रहेको मगर सङ्घको सभाकक्षमा दिवसको मूल समारोह केही समय चल्यो । त्यहाँ पनि भाषणभन्दा सांस्कृतिक प्रस्तुतिलाई आयोजकले बढी स्थान दियो । विभिन्न समूहले आ–आफ्नो गीत र नाच देखाए । भित्र दिवसको मूल समारोह चलिरहँदा सभाकक्षबाहिर नाचगान गरेर रमाउनेहरूको सङ्ख्या पनि उत्तिकै थियो । के महिला, के पुरुष । सबै आफ्नो मगर पहिरनमा ठाटिएर दिवस मनाउन पुगेका थिए ।

समारोहमा बोल्दै गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगरले अवसर पाए जनजाति समुदाय देशकै नेतृत्व गर्न सक्षम रहेको बताए । आफ्नै इतिहास, रहनसहन र संस्कृतिले मगरहरूलाई बेग्लै पहिचान दिलाएको उनको भनाइ छ ।

मन्त्री जुग्जाली मगरले जनजाति समुदायका युवाहरूलाई विदेशमोह त्यागेर देश सेवाका लागि निजामती क्षेत्रमा आउन आग्रहसमेत गरे । उनले दिवसले मगरहरूबीचको एकतालाई थप सुदृढ पार्न प्रेरणा दिने उल्लेख गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सामाजिक रुपान्तरणमा मगर समुदायको ऐतिहासिक योगदान रहेको उल्लेख गरे । उनले मगर जातिलाई देशप्रेमी, परिश्रमी, इमान्दार र अनुशासित समुदायका रूपमा चित्रित गरे ।

आदिवासी जनजाति महासङ्घ गण्डकीका मुख्यसचिव सुजन लामाले मगर दिवसका दिन सार्वजनिक दिन सरकारसमक्ष माग गरे । उनले राज्यका हरेक निकायमा आदिवासी जनजाति समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता हुनुपर्ने बताए ।

नेपाल मगर सङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष तारा थापामगरले विद्यालयमा मगर भाषाको पाठ्यक्रम पढाउनुपर्ने बताए । भाषिक, सांस्कृतिक र राजनीतिक अधिकारका लागि मगर समुदाय एकजुट हुनुपर्ने उनको भनाइ छ ।

तमु धिँ नेपाल कास्कीका अध्यक्ष होम तमुले आदिवासीको अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्न बाँकी रहेको बताए । उनले साङ्गठानिकरूपमा एकताबद्ध हुँदै शिक्षा र राजनीतिमा पनि मगरहरू अब्बल हुनुपर्ने धारणा राखे ।

नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष सङ्गीता पुनमगरले सङ्घ स्थापना भएको दिनलाई मगर एकता दिवसका रूपमा मनाउने गरिएको बताए । “फागुन १५ हाम्रा लागि ऐतिहासिक दिन हो, एकता दिवसलाई उत्सवकै रूपमा मनाउने गर्छौँ”, उनले भने । दिवसका अवसरमा उत्कृष्ट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने समूहलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १२:४९