७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि शुक्रलाई

१२ फागुन, कास्की । पोखरामा सञ्चालन भएको सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबहादुर राईले जितेका छन् ।

प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा पोखराको हिमालय गल्फ कोर्समा सञ्चालन भएको प्रतियोगितामा नेपालका नम्बर एक प्रोफेसनल गल्फर राईले पार ६९ प्रतिस्पर्धामा पाँच अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पार्दैै उपाधि जितेका हुन् ।

उनले समग्रमा एक अन्डर दुई सय छको स्कोरमा साबिक विजेता एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले हराउँदै करियरको नवौँ उपाधि जिते । उपाधिसँगै उनले रु एक लाख ४० हजार पुरस्कार पाए । १३औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले अन्तिम दिन दुई अन्डर ओभर ७१ खेल्दै समग्रमा एक ओभर दुई सय आठसहित दोस्रो भए । एमेच्योरतर्फ भने सुवासले उपाधि जिते । सुवासले अजित विकेलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा पराजित गरेका हुन् ।

प्रोफेसनलतर्फ भुवन नगरकोटी र सञ्जय लामा तीन ओभर दुई सय १० स्कोरसहित संयुक्त रुपमा दोस्रो भए । आज भुवनले तीन ओभर ७२ र सञ्जयले दुई ओभर ७१ खेले । दुवैले ७८ हजार पाँच सय नगद पुरस्कार प्राप्त गरे । इभन पार ६९ सहित समग्रमा पाँच ओभर दुई सय १२ को स्कोरमा जयराम श्रेष्ठ चौथो हुँदै ५५ हजार पाए ।

भेट्रान गल्फर रामे मगरले अन्तिम १८ होलको खेल पाँच ओभर ७४ मा सकाउँदै समग्रमा छ ओभर दुई सय १३ स्कोरसहित पाँचौँ हुँदा ४७ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार २२:५६