१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

परराष्ट्रमन्त्री डा पौड्यालद्वारा प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन (भिडियाेसहित)

१२ फागुन, काठमाडाैं । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीति नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छिन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरीन् ।

उनले दूतावासहरूलाई मित्रराष्ट्रसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा उपस्थित भई नेपालको छविलाई उकास्न निर्देशन दिइन् ।

विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सीप र क्षमताको पहिचान गरी आवश्यक पर्दा नेपालको विकासमा सदुपयोग गर्ने वातावारण बनाउन पनि परराष्ट्रमन्त्री पौड्यालले आग्रह गरीन् ।

श्रमका लागि विभिन्न देशमा पुगेका नेपाली दाजुभाइ दिदीबहिनीलाई समस्या आइपर्दा प्रभावकारी सेवा दिन दूतावासहरूमा चौबिसै घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न पनि उनले विशेष जोड दिइन् ।

नेपालीले मुलुकबाहिर रहँदा कुनै पनि प्रकारका दुःख पाउन नहुने भन्दै उनले उनीहरुलाई आपत् पर्दा तत्काल राहत र उद्घार गर्न कुनै कसर बाँकी नराख्न पनि उनहरूलाई निर्देशन दिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार २०:३०