सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित छ : प्रधानसेनापति
१२ फागुन, काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय रहने बताएका छन् । सैनिक कमान्ड तथा स्टाफ कलेजमा २९आँै समूहको कमान्ड तथा स्टाफ तालिम दीक्षान्त समारोहमा उनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित पार्ने भए पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने धारणा व्यक्त गरे ।
सेनाका तीन महिलासहित ८० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक/एकजना सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त समूहमा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक÷एकजना सैनिक अधिकृत सहभागिता थियो ।
विसं २०४९ मा स्थापना भएको कलेजबाट हालसम्म सेनाका एक हजार एक सय २०, प्रहरीका १४, सशस्त्र प्रहरीका २६, राष्ट्रिय अनुसन्धानका १७, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय आठ गरी जम्मा एक हजार दुई सय ८६ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् । उक्त तालिम सोधपत्रतर्फ सेनानी विक्रम खड्का, मास प्रोग्रामतर्फ सेनानी रबिन गुरुङ तथा समग्रमा सेनानी उज्ज्वल गोतामे सर्वोत्कृष्ट शिक्षार्थी घोषित भए । सो अवसरमा प्रधानसेनापति शर्माले सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार प्रदान गर्नाका साथै कलेजको वार्षिक प्रकाशन दी शिवपुरी जर्नलको २४औँ संस्करण विमोचन गरे ।
प्रकाशित मिति : 20:13









