२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

११ फागुन, झापा । मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ । उहाँले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताउनुभयो ।

निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उहाँले जानकारी दिनुभयो । उहाँले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ”, उहाँले भन्नुभयो, “यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ ।

” उहाँले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ । निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि चार सय मिटरसम्मका रहेको उहाँले बताउनुभयो । रु १० अर्ब १३ करोडका लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १५:३०