२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

लघुवित्त समस्या समाधान गर्न गगन थापाले दिए ५ उपाय


१० फागुन, काठमाडौं । लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै संसद्मा लघुवित्तलाई नियमन गर्न आवाज उठेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न र एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

“अति न्यूनआय भएका गरिबलाई गरिबीको रेखाबाट माथि उठाउने उद्देश्यका साथ लघुवित्त सञ्चालनमा आएका भए पनि कयौँ लघुवित्तका कारण गरिब थला परेका छन्, अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त, तत्कालको गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहाकहरु, सुपरीवेक्षण गर्ने राष्ट्रबैंकका कारण यो अवस्था देखिएको हो”, उनले भने ।

उनले समस्या सँगसँगै समाधानको उपाय पनि बताउँदै ती सुझाव कार्यान्वयनका लागि गर्न राष्ट्र बैंकको ध्यानकर्षण समेत गराएका छन् ।

उनले दिएका सुझाव यस्ता छन् :

१. साँच्चिकै मर्कामा परेकाहरुको राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फण्ड होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्ने

२. बदनीयतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने ।

३. एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने ।

४. सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने ।

५. वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जाने ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १६:०३