१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

९ फागुन, चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो । बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक , हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन रहेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १२:३३