२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी बैठक बस्दै, ओलीको प्रस्ताव गर्ला त स्वीकार ?

८ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे ठोस धारणा तय गर्ने भएको छ । माओवादीले धारणा बनाउनका लागि आज केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ । अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले राष्ट्रपति निर्वाचनबारे माओवादीको ठोस धारणा तय गर्नेछ ।

परमादेशी गठबन्धन ब्यूँत्याउन अमेरिका र भारतले दाबब दिएपछि माओवादी नेतृत्व अहिले तनावमा छ । उसले त्यसैका लागि राष्ट्रिय सहमतिको राष्ट्रपति भन्ने नारा अघि सारेको छ । एमाले व्यक्तिका बारेमा खुला छलफल पनि नगर्ने र विदेशीले पनि निरन्तर दाबब दिने गरिरहँदा माओवादी नेतृत्व दबाबमा परेको हो ।

यद्यपी पछिल्लो पटक सरकारको साँच हातमा लिने बेलामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गरेको समझदारीका कारण उनी एमालेको उम्मेदवार राष्ट्रपति बनाउने बाटोबाट अन्त पुग्न सक्दैनन् । तर माओवादीको आधाकारिक निर्णय नआउँदासम्म यस सम्बन्धमा केही भन्न सकिने अवस्था छैन । एमालेले व्यक्तिका बारेमा प्रष्ट कुरा नगर्दा झस्किरहेको माओवादी कांग्रेसको प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने दुबिधामा छ ।

माओवादीका कतिपय नेताले एमालेमाथि दबाब सिर्जना गर्न कांग्रेसको उम्मेदवारलाई समर्थन हुन सक्ने बताइरहेका छन । त्यस अवस्थामा कांग्रेसले भारतको रोजाइको उम्मेदवार वा विगतमा परमादेश जारीका लागि सर्वोच्चमा वातावरण बनाइदिने मध्येका एक पात्र हुनुपर्ने सर्त राखेका छन ।

कांग्रेस र माओवादीका दोस्रो तहका कतिपय नेताको बीचयमा यस्तो विषयमा पछिल्लो दिनमा दिनहुँजस्तो छलफल भैरहेको बुझिएको छ । त्यसैलाई संकेत गर्दै आइतबारमात्र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केहीदिनमै परमादेशका लागि बनेको पुरानो गठबन्धन व्यूँतिने घोषाण गरेका थिए ।

आज बस्ने माओवादी बैठकले नेपाली कांग्रेसको प्रस्ताव वा एमाले अध्यक्ष केपी शर्मा ओली कसको प्रस्ताव स्वीकार गर्ने निर्णय गर्छ त्यसको प्रतिक्षा महत्वपूर्ण बनेको छ । राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा उम्मेदवारी दर्ता र फागुन २५ मा मतदान हुँदैछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ०९:११