१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

अनेरास्ववियुको झण्डाको गीत

-अर्जुन पाण्डे

बिहानीको घाम जस्तै रातो, लेकाली गुराँस जस्तै रातो

अनेरास्ववियुको झण्डा हो यो रगतले रंगिएको रातो ।

संघर्ष मै जन्यो हुर्क्यो संघर्ष मै बढ्यो,

देश र जनताको निम्ति यसले संधै लड्यो ।

भारतिय विस्तारबादको नेपाल खाने दाउ

त्यो दाउलाइ उल्टाइ दिन जुटौं सबै आउ

सामाजिक साम्राज्यबाद युद्ध चर्काउँछ

जनताको हुंकारले विश्व थर्काउँछ

विहानीको घम जस्तै रातो ……

अज भन्दा ४० बर्ष अघि अनेरास्ववियुका कैयन अधिवेशनहरुमा गाएको यो गीत अहिले सम्म कण्ठ छ । बडो जोसका साथ गाइयो । धेरै ठाउँमा विवाद, झगडा गरियो, धेरैलाइ अखिल बनाइयो पनि । निरंकुश पंचायति व्यवस्थामा राजनीतिक प्रकृतिका संघ सँस्था खोल्न गतिविधि गर्न बन्देज थियो । विद्यार्थीका अधिवेशनहरु पनि कैयौं ठाउँमा राती त कति ठाउँमा जंगल भित्र कडा निगरानिका विच गरियो । विहान हुनुभन्दा अघि नै आआफ्नो गन्तब्यमा छरिएर हिड्यो, बस् ।

आज अनेरास्ववियुको २३ औँ अधिवेशन हुँदैछ । यो चालिस बर्षमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भएका छन् देशमा । अनेरास्ववियुको झण्डा उहि छ । झण्डाको गीत उहि छ कि फेरियो होला ? झण्डाको गीतले विद्यार्थी आन्दोलनको मार्ग देखाइरहेको हुन्छ । हिजो पंचायत फालेर लोकतन्त्र ल्याउनु थियो । यस अर्थमा गीतका शब्द, संगीत र भाव सान्दर्भिक थिए । आज विद्यार्थी आन्दोलनको दिशा बदलियो कि उहि छ ? अथबा उहि हुनु पर्छ कि बदलिनु पर्छ ? विद्यार्थी केही हदसम्म स्वतन्त्र हुने हुनाले त्यो बेला राजनीतिक पार्टीले बोल्ने भाषा विद्यार्थीले बोल्नु पर्ने थियो । विद्यार्थीलाइ हिजो युगले दिएको जिम्मेवारी थियो त्यो । आजको अवस्था पक्कै त्यो छैन ।

आज राजनीतिक पार्टी खोल्न मात्र होइन खोलेको तीन महिनामा सरकारमा पुग्न सक्ने बातावरण छ । तसर्थ अब विद्यार्थीले राजनीतिका नारा बोकेर संघर्ष गरिरहनु पर्ने अवस्था छैन । पार्टी नै छन् । खासमा विद्यार्थीको काम सिक्ने, पढ्ने लेख्ने, जान्ने बुझ्ने हुने हो । कुनै न कुनै सिपमा दक्ष र योग्य हुने हो । अझ भन्ने हो भने अब रगत र बलिदानको गीत गाउनु भन्दा शिप ज्ञान, दक्षता, सफलता, स्वावलम्वन, अनुशासन, देश निर्माण र सीर्जनाका गीत गाउनु पर्छ विद्यार्थीले । यस तर्फ विद्यर्थाीका ध्यान नजानाले नै आज विद्यार्थी आफ्नो देश बनाउने सपना देख्न छाडीसके ।

बरु जति छिटो हुन्छ उति विदेश जाने र उतै बस्ने योजना बनाइरहेका छन् । हामी सबैको आँखा अगाडीको सत्य यही हो । तसर्थ अब …..रगतले रंगिएको रातो भन्नु भन्दा लालुपाते फुल जस्तै रातो….भन्दा क्यै विग्रँदैन । अब रगतका कुरा नगरौं । आजको आवस्यकता यो होइन । आजको विद्यार्थीले देश छाड्ने सपना देखिरहँदा भोलिको नेपाल कस्तो होला ? भनेर आजै आँकलन गर्न सकिन्छ । किनकी पढाइ लेखाइमा अब्बल हुनेहरुलाइ नै विदेशले पनि छानेर लगिरहेछन । आजको विद्यार्थी केन्द्रित आवस्यकता भनेको युवा बर्गलाइ देशमै कसरी रोक्न सकिन्छ भन्ने हो । तसर्थ सबैको ध्यान देश निर्माण, स्वरोजगार, उद्यमशीलता तर्फ केन्द्रित गरौं, राजनिति तर्फ होइन । बदलौं सोच, समय अनुकुलका गीत बनाउँदै गाऔं…..

बेथितीले जरा हाल्यो बाँच्न भयो चर्को

हेर आज विद्यार्थीको देश छाड्ने लर्को

विद्यार्थीले आज ज्ञान शिप सिक्नु पर्छ

सबैजना मन्त्री भए खेती कल्ले गर्छ ?

श्रम कल्ले गर्छ ? उद्योग कल्ले गर्छ ?

विहानीको घाम जस्तै रातो……………

मेची देखि काली सम्म उन्नतिमा लागी

पौरखले अघि बढ्ने खाने हैन मागी

आफ्नो खुट्टा टेक्न सक्ने स्वावलम्वि बन्छौं

विश्वमाझ समृद्ध र धनी हामी हुन्छौं ।

विहानीको घाम जस्तै रातो……..

प्यारो अनेरास्ववियुको तेइसौं राष्टिय अधिबेशन सफलताको शुभकामना ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार ११:१८