१ असार २०८३, सोमबार | Mon Jun 15 2026

केपी ओली बिना मरिण डाइभर्सन सम्भव थिएन

१ फागुन, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै हुलाकी सडक निर्माण, तराई मधेशका जिल्ला सदरमुकाम आधुनिकीकरण गर्ने काम, सिंचाइका लागि मरिण डाइभर्सन आयोजना शुरु गरी अहिले धमाधम काम भइरहेको बताएका छन ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जनसंगठन लोकतान्त्रिक युवा संघका केन्द्रीय सदस्य रंजित कुमार सिंहलाई एमालेमा स्वागत गर्दै महासचिव पोखरेलले अध्यक्ष ओली सरकारको नेतृत्वमा नभएको भए सुनकोशीको पानी मरिण डाइभर्सनमार्फत बाग्मतीमा खसाली तराई मधेशमा सिंचाइको कल्पना पनि गर्न समेत नसकिने बताए ।

पूर्वपश्चिम रेलमार्गको परिकल्पना देशभित्रमात्र सीमित नभई एसियाली रेलमार्गसँग जोडिने विषय भएको वताउँदै महासचिव पोखरेलले तराई मधेशको समृद्धिको आधार कृषि र यातायात रहेको बताए । उनले नेकपा (एमाले) ले विकास र समृद्धिका ठूला परियोजना अगाडि बढाएकै कारण पार्टीविरूद्ध घेराबन्दी हुने गरेको बताए ।

उनले नवप्रवेशी सिंहलाई नेकपा (एमाले) ले गन्तव्य बनाएको विकास र समृद्धिको यात्रामा अन्य साथीहरूलाई जोड्न पनि आग्रह गरे । महोत्तरी निवासी नवप्रवेशी सिंहले नेकपा (एमाले) मा प्रवेश गर्न पाउँदा गौरव अनुभूति गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादव र मधेश प्रदेशका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : February 13, 2023 at 6:50 pm