६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

नेपाल टेलिकमको नाफासंगै प्रतिसेयर आम्दानी पनि बढ्याे

२८ माग, काठमाडाैं । नेपाल टेलिकमले ६ महिनामा ४ अर्ब बढी नाफा कमाएको । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ९.१६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ नाफा गरेको थियो ।

सो अवधिमा कम्पनीको कुल आम्दानी भने सामान्य सुधार भएको छ । यस वर्षको २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ कुल आम्दानी गरेको हो । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ०.५० प्रतिशतले मात्र बढी हो ।

कम्पनीको वितरण आम्दानी १८ अर्ब ७ करोड ७३ लाख ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीको यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा भने ५.८८ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १९ अर्ब २० करोड ७२ लाख १७ हजार रुपैयाँ बिक्री वितरण आम्दानी गरेको थियो । सो अवधिमा कम्पनीको अन्य आम्दानी भने ४४.६४ प्रतिशतले बढेर ४ अर्ब २ करोड ३७ लाख ८९ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ७४ अर्ब ३२ करोड ५९ लाख ९७ हजार रुपैयाँ राखेको छ । कम्पनीको जगेडा कोष गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३.८१ प्रतिशतले घटेको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ९७ पैसाले वृद्धि भई ४७ रुपैयाँ २८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा छ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १३:४३