२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

२४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको बताए ।

‘यसमा पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौं, गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए । उनले भने, ‘हामीले गणतन्त्र दिवस मनाउँछौं, प्रजातन्त्र दिवस मनाउँछौं, लोकतन्त्र दिवस मनाउँछौं । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ । त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ ।’

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १५:३६