अजोड इन्स्योरेन्स कम्पनीको बेजोडको ठगी, पीडित भन्छनः बीमा अघि सोच्नुहुोस्
-प्रतिमा मुडभरी
२४ माघ, काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीको ठगीको नयाँ तथ्य सार्वजनिक भएको छ । बीमा बेच्ने तर दाबी भुक्तानी नदिनेमा अग्रणी बनेको अजोडले आफ्नो विशेषतामा एक ईट्टा थपेको छ । अजोडमा इन्स्योरेन्स गरेकाहरू हजारौँले पश्चाताम गरिरहेको समयमा अजोडले बीमितलाई ठगी गरेको अर्को तथ्य पनि बाहिर आएको छ । कोरोना बीमाका नाममा पोलिसी बेचेर बीमितलाई दाबी भुक्तानी दिने बेलामा सरकारतिर औँला देखाउने अजोडले चितवनको एक बीमितलाई ठगी गरेको तथ्य दैनिकीले प्राप्त गरेको छ ।
अजोडले एउटै शीर्षकको बीमामा भुक्तानीमा विभेद गर्दै ठगी गरेको हो । एउटै दुर्घटनामा परेको चालक र यात्रुको बीमामा अजोडले ठगी गरेको हो । सवारीको पूर्ण बीमा भएको अवस्थामा प्रति यात्रु तीन लाख रूपैयाँसम्म उपचार खर्च व्यहोर्ने नीति हुन्छ । तर अजोडले एकै दुर्घटनामा परेका दुई जनाको बीचमा पनि विभेद गर्दै एक जनाको उपचार खर्च वापत तीन लाख भुक्तानी गरेर अर्कोको आधामात्र भुक्तानी गरेको छ । बीमाले भुक्तानी गर्ने भन्दा बढी उपचारमा खर्च भए पनि बीमितले उपचार खर्च वापत तीन लाख रूपैयाँ प्राप्त हुने अपेक्षासहित सोही अनुसार अस्पतालको बिल समावेश गरेर भुक्तानीका लागि दाबी गरेको भए पनि अजोडले भुक्तानी दिएको छैन ।
चितवनका रामप्रसाद भट्ट र दिपेन्द्रप्रसाद भट्टको उपचार खर्चको भुक्तानीमा अजोडले ठगी गरेको हो । अजोडले दिपेन्द्रको बिल अनुसारनै भुक्तानी गरेको छ भने रामप्रसादको २ लाख ३२ हजार ५ सय ६२ रूपैयाँ भुक्तानीको दाबी गरिएकोमा १ लाख ५० हजार रूपैयाँमात्र भुक्तानी दिएको छ । दुर्घटनामा परेर अजोड मार्फत पीडित बनेका रामप्रसाद भट्टले दैनिकीसँग कुरा गर्दै आफूले माग दाबी अनुसारको पैसा माग्दा अजोड कुनै कारणबिनै यो भन्दा बढी भुक्तानी दिन मिल्दैन भन्दै फिर्ता गरेको जनाए । उनले आफ्नो उपचारमा लागेको खर्चको बिल अनुसार भुक्तानीका लागि पटक पटक अनुरोध गरेको भए पनि अजोडले नमानेको बताए ।
अजोडले यात्रुको दुर्घटनाको औषधोपचार वापत तीन लाख रूपैयाँ, सवारी मर्मतको १५ हजार रूपैयाँ र दुर्घटनामा परेका चालकको औषधोपचारमा १ लाख ५० हजार गरी कुल चार लाख ६५ हजार रूपैयाँ भुक्तानी दिएको छ । भुक्तानी किन कम भनेर हामीले अजोडका सूचना अधिकारी प्रेमराज पाण्डेसँग जवाफ माग्दा उनले आफूले यस्तो कुरा नजान्ने तर भुक्तानी बीमाको नीति अनुसारनै हुनुपर्ने बताए । उनले उपचार खर्च वापत अधिकतम तीन लाख रूपैयाँ दिने बीमाको नीतिनै रहेको पनि बताए ।
तर अजोडले भने रामप्रसादलाई दाबी अुनसारको भुक्तानी दिएन । अजोडले मोटरसाइकल मर्मतमा ३८ हजार ४८८ रूपैयाँ खर्च भएकोमा जम्मा १५ हजार रूपैयाँमात्र भुक्तानी दिएको छ । बीमा बिक्री गर्ने बेलामा अनेक आश्वासन र भ्रम दिने तर बीमाको दाबी गर्दा खर्च भएको बिल अनुसार पनि भुक्तानी गर्न अजोडले आनाकानी गरेको हो । यस घटनामा मूल्य भन्दा पनि अजोडको नियत खराब देखिएको छ । उसले आफूले बिक्री गरेको पोलिसी अनुसारको दाबी भुक्तानी गर्न मानेको झण्डट र दाबी अनुसार पनि भुक्तानी नपाएपछि रामप्रसादले भोलिको दिनमा भुलेर पनि अजोड इन्स्योरेन्ससँग कुनै काम नगर्ने बताए । उनले अजोडले बीमतलाई राहत भन्दा बढी ठगेको बताए ।
यस्तो थियो दुर्घटना
२०७८ मंसिर २० गते मध्यान्ह १२ बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ मा रहेको भारतीय महावाणिज्य दूतावास कार्यालय अघि वीर बागमती प्रदेश ०-३-००४ प ८३५५ नम्बरको १५० सीसीको कालो पल्सरलाइ सोही दिशाबाट आएको नम्बर नखुलेको केटिएम मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकलका चालक साविक गोरखा जिल्ला तान्द्राङ गाविस वडा नम्बर ६ हाल चिवतन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ३ बस्ने रामप्रसाद भट्ट र यात्रु सोही ठेगानाका दिपेन्द्रप्रसाद भट्टकाे यातायात कार्यालय वीरगञ्जबाट घण्टाघरतर्फ जानेक्रममा दुर्घटना भएको थियो ।
उनीहरूको नारायणी अस्पताल वीरगञ्जमा प्रारम्भिक उपचारपछि अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार गरेका थिए । उपचारका लागि भरतपुरमा राखिएपछि बीमितको तर्फबाट प्रदिप घिमिरेले अजोडको कार्यालयमा निवेदन नै लेखेर जानकारी गराइदिएका थिए । त्यसपछि सम्पूर्ण बिलसहित अजोडमा भुक्तानीका लागि दाबी पेश गरिएको रामप्रसाद भट्ट बताउँछन । तर लामो समय लगाएर बल्लतल्ल दिएको पैसामा पनि बीमाको नियम अनुसार भुक्तानी दिन अजोडले अस्वीकार गरेको छ ।
दुर्घटनामा परेका बीमितको खर्चमा यसरी हुन्छ दाबी भुक्तानी
यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क रकम पाँच लाख रुपैयाँ तोकेको हुन्छ । दुर्घटनामा परि यात्रुको मृत्यु भएमा सोहि बीमाङ रकमको सीमाभित्र रहि किरिया खर्च समेत उपलब्ध गराउने प्रचलन छ । जसमा तेस्रो पक्षको मृत्यु भएमा वा चालक, यात्रु, परिचालक, हेल्परको मृत्यु भएमा किरिया खर्च बापत प्रति व्यक्ति ५० हजार रुपैयाँ तोकिएको छ । तेस्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क पाँच लाख रुपैयाँ तोकेको छ । साथै घाइते भएमा उपचार बापत ३ लाख रुपैयाँ औषधि उपचारका लागि प्रदान गरिन्छ ।
प्रकाशित मिति : 16:09









