१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

पवित्र देवभूमि हो नेपाल : मन्त्री पाण्डे

२३ माघ, नवलपुर । सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल पवित्र देवभूमि भएको बताए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रममा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन गर्दै मन्त्री पाण्डेले देवभूमिमा शान्ति र विकासको कामना गरेका हुन् ।

“नेपालमा धेरै अप्ठ्यारा परिस्थिति आउँदै गरेका छन्”, उनले भने, “यस प्रकार गरिने यज्ञले त्यस्ता परिस्थितिबाट यो देशलाई मुक्त बनाएर नेपाली जनता अगाडि बढ्न सकुन् भन्ने यो यज्ञमा आशिर्वाद माग्दछु ।” नेपालको सांस्कृतिक पहिचान भनेकै धर्म भएकाले धर्मको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए । देशमा विभिन्न उतारचढाव हुँदा पनि धार्मिक गुरु र धार्मिक सोच भएका व्यक्तिले सञ्चालन गरेका यज्ञलाई सफल बनाउनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रगुरु योगी नरहरिनाथले विश्वशान्ति हेतु विसं २०४५ मा कोटिहोम महायज्ञ लगाएको यस पवित्रस्थलमा विभिन्न जातजातिका २४ बटुकलाई अध्ययन गराइँदै आएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताए । करिब १० बिघा क्षेत्रफलमा फैलिएको कोटिहोममा आश्रमले गुरुकूलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठनपाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको उनले बताए । श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको बृहत् गुरुयोजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरु गोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि महायज्ञ सञ्चालन गरेको आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कँडेलले बताए ।

महोत्सवमा रु पाँच करोडसम्म आम्दानी तथा रु ८० लाख खर्चको अनुमान गरिएको कँडेलको भनाइ छ । यहाँ श्री योगी नरहरिनाथ आध्यात्म विज्ञान गीता पाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा छ शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझी, ठकुरी, क्षेत्री समुदायका २४ बटुक अध्ययनरत छन् । आवासीय रूपमा उनीहरूलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १८:३६