२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

६ महिनामा १७ करोड ३५ लाख राजस्व संकलन

२२ माघ, सर्लाही । भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

साउनदेखि पुससम्म रू ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू १७ करोड ३५ लाख ८६ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले चालु आवमा रू ७८ करोड ५० लाख ७६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । आव २०७८÷७९ मा लक्ष्यको ८५ प्रतिशत र आव २०७७÷७८ मा लक्ष्यको एक सय ७६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

अधिकृत साहका अनुसार राजस्वमा बढी योगदान गर्ने वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको हो । आयात हुने वस्तुमा आलु, प्याज, कोइला, सख्खर, माछाको दाना, भेनियर र फर्मलडिहाइड छन्, भने धान र गहँुको आयात निर्यात बन्द छन् ।

आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने उहाँको भनाइ छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण लामो समय व्यापार व्यवसाय बन्द हुनु तथा जिल्लामा रहेका अन्य सात वटा छोटी भन्सार कार्यालय पनि बन्द हुँदा राजस्व सङ्कलन प्रभावित भएको भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : February 5, 2023 at 5:01 pm