११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बुटवलमा शेयर कारोबार फष्टाउँदै

२६ फागुन, रुपन्देही । प्रदेश नं ५ को राजधानी बुटवलमा शेयर बजारको कारोबार फष्टाउँदै गएको छ  । व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर (शेयर दलाल) कार्यालय स्थापना भएपछि शेयर खरिद तथा बिक्रीका लागि लगानीकर्ताको चाप ह्वात्तै बढेको आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकर कार्यालयका प्रमुख टेकराज भट्टराइले जानकारी दिनुभयो ।

“हामीले शेयर साक्षरता र काउन्सिलिङको क्षेत्रमा नै धेरै काम ग¥र्यौं”, उहाँले भन्नुभयो । शेयर बजारमा कारोबार गर्न रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकाबाहेक प्रदेश नं ५ को परासी, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायतका स्थानबाट बुटवलमा रहेका विभिन्न ब्रोकर कार्यालयमा शेयर लगानीकर्ताको भीड लाग्ने गरेको छ ।

भट्टराईले शेयर बजारमा महिला सहभागिता पनि उल्लेख्य भएको जानकारी दिँदै वाणिज्य बैंक र इन्स्योरेन्सको शेयर खरिदमा लगानीकर्ताको चाप बढी भएको बताउनुभयो ।

“सुधारको अवस्थामा रहेको अहिलेको शेयर बजार कता जान्छ भन्नसक्ने अवस्था छैन तर दुई दिनको परिसूचँकले सकारात्मक बाटो लिएको छ”, उहाँले भन्नुभयो ।

भट्टराईले दीर्घकालीनरुपमा लगानी गर्नेलाई अहिलेको बजारको समय सदुपयोग गर्न आग्रह गर्दै शेयर लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताउनुभयो ।

बैंकको ब्याज दर र बैकिङ तरलताले शेयर बजार प्रभावित भएको अनुमान गर्दै उहाँले नयाँ लगानीकर्तालाई बुझेरमात्रै लगानी गर्न अनुरोध गरेका छाँै भन्नुभयो ।

बुटवलमा आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकरसहित दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली ३३ नं, लिन्च सेक्युरिटिज ४१ नं, एसियन सेक्युरिटी २६ नं मिडास सेक्युरिटिजी २२ ब्रोकर कार्यालयले पनि शेयर खरिद तथा बिक्रीको काम गर्दै आएका छन् ।

आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकर कार्यालय, बुटवलका अनुसार यो साता चार दिनको अवधिमा रु एक करोड ६८ लाख ३७ हजार २०० बराबरको शेयर कारोबार भएको छ भने गत साता रु एक करोड १० लाख ६२ हजार ३५६ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली ३३ नं, ब्रोकर कार्यालयका प्रमुख शंकर अधिकारीले यो साता चार दिनमात्रै रु ५२ लाख २९ हजार १५८ बराबरको शेयर कारोबार भएको जानकारी दिनुभयो । गत साता सो कार्यालयले रु ३३ लाख ३४ हजार ८२४ बराबरको शेयर कारोबार गरेको थियो ।

विसं २०७३ चैत १२ गतेदेखि बुटवलमा ब्रोकर कार्यालय स्थापना भएका थिए । ब्रोकर कार्यालय स्थापनापछि शेयर खरिद तथा बिक्रीका लागि हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या पनि बढेको बताइएको छ । रासस

प्रकाशित मिति : March 10, 2018 at 5:39 pm