१३ जेष्ठ २०८१, आईतवार | Mon May 27 2024

अष्ट्रेलियामा माघे संक्रान्ती मेलाको हुदै नेपालबाट समेत आइपुगे कलाकार


११ माघ, अष्ट्रेलिया । नेपाली समुदायमा माघे संक्रान्ती पर्व विषेश महत्व राख्दछ । नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रूपमा मनाउने गर्छन् । विभिन्न जाति समुदायले विभिन्न नाम विशेषमा माघे संक्रान्ती मनाउने गर्छन् ।

मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ। यस पर्वको अवसरमा नेपालमा मगर समुदायका मानिसहरु सामूहिक रूपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन पनि छ।

यहि क्रममा जनवरी २९ मा सिड्नीमा मगर समाज अष्ट्रेलियाले माघे संक्रान्ती मेला – २०२३ आयोजना गर्ने भएको छ । सिड्नीको गफ व्हिटलाम पार्कमा दिनको १२ बजेबाट मेला शुरु हुने मगर समाज अष्ट्रेलियाका कार्यसमिति सदस्य विशाल राना मगरले बताए । रानाले प्रख्यात कौरा नाच सहित विभिन्न नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम हुने बताए ।

सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायकहरु सागर आले मगर, संझना मगर, झलक पुन मगर सहितका कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने सदस्य रानाले बताए । नेपाल आइडलबाट उदायका सागर आले मगरका `पल्ला घरकी कान्छी नानी´ लगायतका गितहरु चर्चित छन् ।

प्रवेश नि शुल्क रहेको कार्यक्रममा नेपाली खानाको समेत स्वाद लिन पाइने भएको छ । सदस्य मगरले स-परिवार कार्यक्रममा उपस्थित भएर नेपाली संस्कृति र संस्कार बारेमा प्रत्यक्ष साक्षात्कार गर्न र गराउन हुन सिड्नीवासी नेपाली समुदायलाई अनुरोध गरेका छन् । उनले बहुसांस्कृतिक मुलुक नेपालबाट आएका प्रत्येक बालबालिकालाई आफ्नो देशको सबै विविधता वारे जानकारी गराउनु अभिभावकहरुको कर्तव्य पनि भएकाले विशेष गरि बालबालिकाहरुका अभिभावकहरुलाई स परिवार उपस्थितिका लागि अनुरोध गरेका छन् । विगतमा विद्यार्थी सम्मान लगायतका कार्य गर्दै आएको समाजले वार्षिक रुपमा माघे संक्रान्ति मनाउदै आएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १२:३९