३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

चेपाङ बालबालिकालाई पोसाक र शैक्षिक सामग्री


१० माघ, डुम्रे । रोटरी क्लव अफ दमौलीले तनहुँको व्यास नगरपालिका-११ का चेपाङ बस्तीका बालबालिकालाई विभिन्न सामग्री प्रदान गरेको छ । क्लवले आर्थिक अभावमा गुज्रिएका व्यास नगरपालिका-११ स्थित राम्चे र भानु नगरपालिका-६ मान्द्रेका सिमान्तकृत चेपाङ, दलित र आर्थिक अवस्था कमजाेर भएका बालबालिकालाई सामग्री प्रदान गरेको हो ।

राम्चेस्थित सूर्योदय प्राथमिक विद्यालयका ३२ र मान्द्रेस्थित कालिका प्राथमिक विद्यालयका ३९ विद्यार्थीलाई सहयोग गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए । क्लवका पूर्वअध्यक्ष रजिनलाल श्रेष्ठले विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई ट्र्याक सुट, कापी, कलम, ब्रस, मञ्जन, साबुनलगायतका सामग्री प्रदान गरिएको हो ।

बालबालिका शैक्षिक अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले बताए । उनका अनुसार रोटरी क्लबमा आवद्ध सदस्यले आफ्नो केही खर्च कटाएर बालबालिकाको पठनपाठनमा योगदान गरिएको हो ।

“यो धनभन्दा पनि मन ठूलो भएकाहरुको संस्था हो, हामी दुःख, अभाव र पीडामा मलहम लगाउन एकीकृत भएका हौँ”, उनले भने । गाँस, बाँस र आवासकै लागि सङ्घर्ष गरिरहेका चेपाङ जातिको अवस्था सुधारका निम्ति रोटरीले स्थानीय सरकारसँग समन्वय गरी निरन्तर पहल गर्ने योजनासमेत बनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १६:३६

https://srdb.com.np/