२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नेता पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सुझाव

४ माघ, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षामान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाव दिनुभएको छ । वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहनुभएका नेता पुनको पुस ३० गते पुनः स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।

उहाँको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ डा युवराज शर्माले अहिले उहाँको स्वास्थ्य उपचार सुधार भए पनि दीर्घकालीन समस्या समाधानका लागि कलेजोको प्रत्यारोपण गर्नुपर्ने बताउनुभयो । “जन्डिसका कारणले उहाँको कलेजो समस्या देखिएको छ, अरू वैकल्पिक उपचार गरेर कलेजोलाई ठीक पार्न सकिन्छ कि भनेर हामी लागेको छौँ”, उनले भने, “तर कलेजोको कमजोर स्थिति नै आइसकेको हुनाले प्रत्यारोपण गर्नु सबैभन्दा राम्रो हो, यसबारे हामीले उहाँको परिवारमा छलफलसमेत चलाइसकेका छाैँ ।”

डा शर्माले कलेजो प्रत्यारोपण कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा बिरामीसँग छलफल गर्नेसमेत बताए । जन्डिसका कारणले स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिरमा उपचारका लागि उनी चीन गएका थिए । उनको स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । चीनमा उपचार गर्नुभन्दा अगाडि गतवर्ष पनि रोगले च्यापेपछि उनको थाइल्यान्डमा उपचार गरिएको थियो ।

प्रकाशित मिति : January 18, 2023 at 3:56 pm