२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

ओली र नेम्वाङबीच बालकोटमा २ घण्टा ‘वान टु वान’ छलफल, राष्ट्रपतिमा ‘सरप्राइज’ हुने


१९ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका बीचमा मंगलबार बिहान २ घण्टा एक्लाएक्लै छलफल भएको छ । अध्यक्ष ओलीको निवास बालकोटमा बिहान १० बजेदखि मध्यान्ह १२ बजेसम्म अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङका बीचमा एक्लाएक्लै छलफल भएको स्रोतले जनाएको छ ।

ओली र नेम्वाङको एक्लाएक्लै छलफल चलिरहेको समयमा ओली निवास पुगेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल भने केहीबेर बार्दलीमा बसेका थिए । पोखरेल बालकोट पुगेको केही समयमा फेरि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए । प्रमुख सत्तासाझेदार दल भएका कारण ओली निवासमा दिनहुँ महत्वपूर्ण भेटघाट र छलफलहरू चलिरहेका छन ।

मंगलबारको ओली र नेम्वाङबीचको छलफल राष्ट्रपति र सभामुखको विषयमा भएको अनुमान गरिएको छ । अध्यक्ष ओलीसँग २ घण्टा छलफल गरेको भए पनि नेम्वाङ बालकोटबाट बाहिरिने क्रममा त्यति खुशी देखिएका थिएनन् ।

पछिल्लो समयमा कतिपयले राष्ट्रपतिको उम्मेदवारको रूपमा चर्चा गरेको र नेम्वाङ आफूले पनि राष्ट्रपति पाउनु पर्ने भन्दै दाबी गरेको समाचारहरू बाहिरआइरहेको समयमा उनीहरू दुईबीचको लामो छलफल र बाहिरिदाँ नेम्वाङको अनुहारमा चमक नदेखिनुले सोही विषयमा चर्चा भएको अनुमान गर्नमात्र होइन त्यस विषयमा दुई नेताको बीचमा एकै मत नभएको बुझ्न सकिन्छ ।

एमालेभित्र अध्यक्ष ओलीसहित कोही नेता संविधानको थप व्याख्यासहित वर्तमान राष्ट्रपतिलाई नै निरन्तरता दिने पक्षमा रहेको बुझिएको छ । त्यस्तै उनीहरूले दोस्रो विकल्पको रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाममा चर्चा गरिरहेका छन ।

चार पटक सम्माननीय भैसकेका नेम्वाङले पनि राष्ट्रपतिमा रहर गरे पनि उनको पक्षमा भने अन्य नेताको लम्बिङ देखिदैन । पछिल्लो एक दशक ओलीको प्रमुख कानुनी सल्लाहकार रहेका नेम्वाङका कारण धेरै ठाउँमा ठक्कर खाएको कतिपय नेताहरूको बुझाइ छ । यद्यपी त्यसमा अध्यक्ष ओली भने सहमत देखिदैनन् ।

एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष ओलीको अनुरोध अस्वीकार गरेर वरिष्ठ उपाध्यक्षमा नेम्वाङले ईश्वर पोखरेलका विरूद्धमा उम्मेदवारी दिने भन्दै केही घण्टा महाधिवेशनको सहमति लम्बाएको आरोप लाग्दै आएको छ । त्यतिखेर नेम्वाङले नै महासचिवमा शंकर पोखरेलका विरूद्धमा पनि हालका उपप्रधान तथा अर्थमन्त्री पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई उपयोग गर्न खोजेको त्यो समूहको निष्कर्ष रहेको छ ।

यस्ता विषयमा एक-एक (पारदर्शी रूपमा) हिसाब राखेर राफसाफ गर्नेमा अध्यक्ष ओली अब्बल मानिन्छन । त्यसकारण एमालेले राष्ट्रपति र सभामुखको उम्मेदवार कसलाई बनाउछ भन्न सकिने अवस्था छैन । यद्यपी राष्ट्रपतिमा ‘सरप्राइज’को सम्भावना देखिएको छ ।

सभामुखमा भने पछिल्लो समय मधेश प्रदेशका इन्चार्ज समेत रहेका पार्टीका सचिव रघुवीर महासेठले समेत आंकाक्षा व्यक्त गरेको एमाले स्रोतले जनाएको छ । मंगलबार नेम्वाङसँगको छलफलपछि ओलीले ईश्वर पोखरेल, लिङदेन लगायतसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार २०:०१