८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

इन्भेस्टमेन्ट–मेगा बैंकबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

१८ पुस, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जरमा जानका लागि अन्तिम स्वीकृति पाएका छन् । राष्ट्र बैंकले पुस १७ गते आइतबार दुवै बैंकलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि यी दुवै बैंकहरूलाई एकिकृत कारोबार थालनीको बाटो खुल्नेछ ।

दुवै बैंकको गत पुस ७ गते बसेको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई अनुमोदन गर्दै अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए।

इन्भेस्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। गत असार २२ गते राष्ट्र बैंकले इन्भेस्टमेन्ट र मेगाबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिएको थियो। डीडीए रिपोर्टअनुसार इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको १००ः९० स्वाप रेसियो कायम भएको छ।

मर्जरपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ रहनेछ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाँडे रहनेछन्।

मर्जरपछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार ११:०२