लाभांश वितरणमा लगानीकर्तालाई निराश बनाउँदै प्रभु बैंकले बढायाे सीईओको तलव
१४ पुस, काठमाडाैं । लाभांश घटाउँदै प्रभु बैंकले लगानीकर्तारूलाई निराश बनाएकाे छ । बैंकले अघिल्लाे आर्थिक वर्षकाे तुलनामा यस आर्थिक वर्षमा लगानीकर्ताहरूलाई लगभग आधा लाभांश घटाउँदै वितरण गर्न प्रस्ताव गरेकाे छ । लगानीकर्ताहरूलाई निराश बनाउँदै बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलव भने बढाएकाे छ ।
बैंकले अघिल्लाे आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट बैंककाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ वितरण गरेकाे थियाे । तर आर्थिक वर्ष २०७८/७९ मा बैंकले उक्त लाभांशलाई पनि घटाएर बैंककाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेकाे छ ।
बैंककाे उक्त प्रस्तावित लाभांश आज पुस १४ गते बिहीबार सम्पन्न भएकाे २१औँ वार्षिक साधारण सभाले पारित गरेकाे छ । अघिल्लाे आर्थिक वर्षकाे तुलनामा यस आर्थिक बर्षमा सेयर लगानीकर्ताहरूले ४ प्रतिशत कम लाभांश पाउने भएका छन् ।
लगानीकर्तारूलाई लाभांश घटाएकाे बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनकाे तलव/भत्ता भने अघिल्लाे आर्थिक वर्षकाे तुलनामा यस बर्ष बढाएकाे बैंकले साधारण सभामार्फत सार्वजनिक गरेकाे प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ मा सीईओ शेरचनले तलव/भत्ता बापत कूल ३ करोड ५३ लाख रुपैयाँ बुझेका थिए । उनले भत्ता बापत २ करोड ७४ लाख रूपैयाँ, कर्मचारी बोनस ४१ लाख ६५ हजार रूपैयाँ र बिदा बापत ३७ लाख ३६ हजार रूपैयाँ बुझेका हुन् ।
यस आर्थिक वर्ष २०७८/७९ मा शेरचनले तलव भत्ता बापत कूल ४ कराेड ३ लाख २० हजार रूपैयाँ बुझेका छन् । उनले तलव/भत्ता बापत ३ करोड ३ लाख ३ हजार रूपैयाँ, कर्मचारी बोनस बापत ५६ लाख ९४ हजार रूपैयाँ र दशैँ तथा बिदा भत्ता बापत ४३ लाख २३ हजार गरी कूल ४ कराेड ३ लाख २० हजार रूपैयाँ बुझेका हुन् ।
प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १४:४७












