२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

चिसो बढेसँगै आगोको सहारामा तराइका सर्वसाधारण

१३ पुस, वीरगञ्ज ।  विगत एक हप्तादेखि तराईमा बढेको शीतलहरसँगै कठ्याङ्ग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिक जीवन कष्टकर बन्दै गएको छ । दिनभरि बाक्लो हुस्सुसँगै शीतलहर पर्ने गरेका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी सताइएका छन् ।

दिनभरि काम गरी एक छाक टार्ने गरिब र निमुखा परिवार अहिले आगोको भरमा दिन बिताउन बाध्य छन् । बिहानदेखि बेलुकासम्म कठ्याङ्ग्रिदो चिसो हुने गरेकाले दिनभरि पराल एवं दाउराको आगोको सहाराले दिन बिताउने गरेको उनीहरुको भनाइ छ ।

दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण छाप्रोमा बस्ने स–साना बालबालिका तथा वृद्धवृद्धालाई बढी सताएको छ । चिसो बढेसँगै न्यानो कपडाको अभावका कारण आगोको भरमै दिर्न बिताउने गरे पनि रातिको समयमा परालले बनाएको चटाईको भरमा रात बिताउने गरिएको पीडितहरुको भनाइ छ ।

रातिको समयमा बाक्लो हुस्सुसँगै शीतलहर पर्न थालेपछि शीतलहरको पानी ओछ्यानसम्म आउने गरेकोले सुत्न पनि समस्या हुन थालेको छ तर हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको सहयोग नआएको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १३:२७