७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सूर्यज्योति लाईफ इन्स्योरेन्सको औपचारीक उद्घाटन, इन्स्योरेन्स सेक्टरको टप कम्पनी बन्ने

१३ पुस, काठमाडाैं । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य समारोहका बीच मर्जरको समुद्घाटन गरेका छन्। जीवन बिमाको क्षेत्रमा यो पहिलो सफल मर्जर हो। साबिकका सूर्य लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्स एक आपसमा गाभिएका हुन्। सोमबार काठमाडौँ बानेश्वरस्थित एभरेष्ट होटेलमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा सूर्यज्योति लाईफ इन्स्योरेन्सको उद्घाटन गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सूर्य र ज्योति लाइफ इन्स्योरेन्सको सफल मर्जर अन्य कम्पनीहरुका लागि उदाहरण हुने बताए। संसारमै लाईफ इन्स्योरेन्स कम्पनीहरुको मर्जर कठिन काम रहेको पनि उनले बताए। प्राधिकरणले ल्याएको मर्जर सम्बन्धी पोलिसीलाई अङ्गीकार गरेकोमा उनले दुबै इन्स्योरेन्स कम्पनीका प्रतिनिधिहरुलाई धन्यवाद पनि दिए। मर्जरपछि सिनर्जी इफेक्ट आउने र कम्पनी अझै सबल र वृहत हुने पनि उनले बताए।

सो कार्यक्रममा बोल्दै महानायक राजेश हमालले सूर्यज्योतिको सफलताको कामना गरे। स्थापनाकाल देखि नै ज्योति लाइफ इन्स्योरेन्सका ब्राण्ड एम्बेसडर रहेका हमालले आफूले ज्योति लाईफले चढेका खुट्किलाहरु नजिकबाट नियालेको बताउँदै अब ज्योतिले सूर्यको प्रकाश पाएपछि झन् चम्किलो हुने विश्वाश व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै सूर्यज्योतिका प्रमूख कार्यकारी अधिकृत प्रकाश खत्रीले सूर्यको ज्योतिमा ७ किरण, ७ रङ्ग, ७ तत्व भएझैं कम्पनीले आफ्ना कार्यक्रमहरु विभिन्न ७ वटा कन्सेप्टहरुमा आधारित रहेर अघि बढाउने निधो गरेको बताए। सूर्यज्योतिलाई लाइफ इन्स्योरेन्स सेक्टरको टप कम्पनी बनाउन लागिपर्ने पनि उनले बताए। साथै मर्जरको प्रक्रियामा सहयोग पुर्याउने सबैलाई उनले धन्यवाद पनि दिए।

कार्यक्रममा नेपाल जीवन बिमक संघका अध्यक्ष पोषक पौडेल तथा नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।

बिमा विज्ञ तथा बिमा समितिका पूर्व अध्यक्ष फत्त बहादुर केसीले आफू बिमा समितिको अध्यक्ष हुँदा बिमा कम्पनीहरुको मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका ल्याईएको स्मरण गर्दै जीवन बिमा कम्पनीहरुबीच भएको यो सफल मर्जर अन्य कम्पनीहरुका लागि उदाहरण हुने विश्वाश व्यक्त गरे। नेपाली बीमा क्षेत्रका लागि नौलो भएतापनि मर्जर र एक्विजिसन भनेको विश्वव्यापी ट्रेन्ड भएको पनि बताए।

प्रकाशित मिति : December 28, 2022 at 10:07 am