२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काभ्रे बस दुर्घटनाः १७ मध्ये १३ जना मृतकको पहिचान, ७ जना एउटै वडाका

२८ मंसिर, काठमाडाैं । काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमध्ये ७ जना एउटै वडाका छन् । मृतक ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ, ६ वर्षीया श्रेया तामाङ बनेपा नगरपालिका वडा नं ११ हुन् ।

मृतक १३ जनाको पहिचान भएको छ । अन्य मृत्यु हुनेमा बनेपा १४ का १४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ ।

यस्तै बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले जानकारी दिए । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा सवार ३९ यात्रु सवार थिए ।

घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए ।

बा ३ख  ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १०:५४