३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

यू–२३ राष्ट्रिय भलिबलका लागि गण्डकीबाट दुई खेलाडी छनाेट

२७ मंसिर, बागलुङ । बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् ।

नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनोट परेका हुन्। बाइस वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो हुन् ।

आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनोट गरिएको सङ्घले जनाएको छ ।

भलिबल खेलको इतिहासमा पहिलोपटक यू–२३ राष्ट्रिय टिम तयार पारी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा छन् ।

गलकोट नगरपालिका–७ मल्मका केसी भलिबलमा उदाउँदो प्रतिभा हुनुहुन्छ । यू–२३ राष्ट्रिय टिममा परेसँगै उहाँको खेल करिअर नयाँ मोडमा आइपुगेको छ । देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साकार हुन लागेको केसीले सुनाए ।

“टिममा पक्कै पर्छु भन्ने लागेको थियो, मेहेनत पनि त्यसैअनुसार गरेको थिएँ, छनोटमा पर्दा खुसी छु”, उनले भने । केसी छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुन् । दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’बाट उहाँले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका थिए ।

गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए । त्यसता उनले ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेलेका थिए । जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताए । उनले केसीलाई भलिबलमा भविष्य बोकेको खेलाडीका रूपमा लिए ।

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार ०९:३५