धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता
१८ मंसिर, काठमाडाैं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त बीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच आज मंसिर १८ गते आइतबार बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
मर्जर सम्बन्धी सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मर्जर पश्चात् बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहनेछ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने छन् ।
सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ । समितिको सदस्यहरुमा धौलागिरीबाट संचालकद्वय हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट संचालकद्वय रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन् ।
यसैबीच मर्जर प्रयोजनका लागि यी दुवै लघुवित्तले नेप्सेमा पत्र पठाउँदै आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेका छन्। अब नेप्सेको निर्णयबाट यी दुवै लघुवित्तको आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिनेछ भने अन्य सेयरधनीहरुको सेयर कारोबार भने सुचारु नै रहनेछ।
यी दुवै लघुवित्तले हालै मात्र आईपिओ निष्काशन गरेका थिए । धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो। राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।
त्यस्तै खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।
प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार ११:५४












