५ कम्पनीले घाेषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?
११ मंसिर, काठमाडौं । गत साता थप ५ कम्पनीले लाभांश घोषणा गरेका छन् । गत साता दुई वटा विकास बैंक, दुई हाइड्रोपावर कम्पनी र एक बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेका हुन् ।
गत साता लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, रिडी पावर, युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् ।
१) शाइन रेसुंगा डेभलपमेन्ट बैंक
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको उक्त बैठकले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
२) लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरणा गरिने बैंकले जनाएको छ।
३) युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावर
युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको हो ।
साधारणसभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुदाँ मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।
४) रिडी पावर कम्पनी लिमिटेड
रिडी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि बम्पर लाभांश घाेषणा गरेकाे छ । आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
५) आइएमई जनरल इन्स्योरेन्स
आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । मंसिर ५ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे ६.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३४ प्रतिशत नगद गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।
प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार ०९:५०












