रामकुमारीको माइतीमा पुगेर अर्यालले भनेः झाँक्रीले भोट होइन गुल्मीका जनतासँग माफी माग्नुपर्छ
२१ कार्तिक, गुल्मी । प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता राजेन्द्र अर्यालले गुल्मी क्षेत्र नम्बर–२ का उम्मेदवार एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले गुल्मेली जनताकाबिच माफी माग्नुपर्ने बताएका छन् ।
झाँक्रीको माईती गाउँ मदाने गाउँपालिकामा आयोजित एमालेको चुनावी कार्यक्रमा युवा नेता अर्यालले एमालेको मतबाट सांसद बन्ने अनि एमालेको सरकार ढलाएर प्रतिक्रियाबादीको पाउमा चढाउने कार्य गरेको, एमसिसी पास गरेर राष्ट्रघाती काम गरेको, नागरिकता विधेयकमा ल्याप्छे लगाएर जनघाती काम गरेकोले मत माग्ने नैतिकता नभएको बताए ।
त्यस्तै गुल्मेली एमाले कार्यकर्तालाई आधारशिला बनाएर पाँच बर्ष सांसद बनेकी झाँक्रीले यो बीचमा गुल्मी-२ मा बिकासको सिन्कोसम्म नभाचेको, कोरोनादेखि बाढीपहिरोबाट गुल्मेली जनता पीडित हुदा कुनै वास्ता पास्ता र सरोकार नगर्ने तर अहिले भोट माग्न आउने हास्यास्पद भएको भन्दै अर्यालले गुल्मीका जनताको सुखदुःखमा साथ दिन नपाएको, सांसद भएर पनि बिकासमा ध्यान नदिएको र पार्टीको मत लिएर पार्टी बिभाजन गर्ने अपराधपूर्ण कार्य गरेकोमा माफी माग्नु पर्ने बताए।
गुल्मी जिल्लाका बिभिन्न स्थानमा मतदाता घरदैलो कार्यक्रममा अर्यालले नेपालीका मुख्य महान चाडपर्व मनाउन आएकी झाँक्रीलाई गुल्मेलीले अब पाहुर दिएर पठाउनु पर्ने बताए । उनलाई मत दिनुपर्ने कुनै पनि आधार नभएकाले चेलीलाई सोलीमा पाहुर राखेर पठाउनु आग्रह गरे । पाँच वर्षसम्म सांसद हुँदा जिल्ला वासीका लागि कुनैपनि सिन्को नभाँच्नेले अब निर्वाचित भएर काम गर्नु भन्नु मतदाता छक्काउनु मात्रै भएको बताए ।
ठूला विपत्ति महामारीमा आफनो जिल्लावासीका लागि कुनैपनि सहानुभूति नदेखाएकी झाँक्रीले काम गर्न पाइन भन्नु झुटको खेती मात्रै भएको अर्यालले बताए । चुनावी अभियानमा आफुले निर्वाचन जित्ने कुनैपनि वातावरण नदेखेपछि अग्रज नेता गोकर्ण बिष्टलाई अपमान जनक शब्द प्रयोग गरेर टिका टिप्पणी गर्नु खेद जनक रहेको उनले बताए ।
प्रकाशित मिति : 11:49









