एमालेले जिते नेपाल संसारको स्वर्ग, गठबन्धनले जीते भाँडभैलोः कैलाश ढुङ्गेल
२० कार्तिक, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले हरेक नेपालीको साइनो एमालेसँग गाँसिएको बताएका छन् ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले आइतबार उमाकुण्डको च्यादलुमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै ढुङ्गेलले ज्येष्ठ नागरिकको सम्बन्धन सामाजिक सुरक्षा भत्तासँग, युवाको सम्बन्ध खेलकुदसँग, बालबालिकाको सम्बन्ध शिक्षा र पोषणसँग जोडिएको बताए ।
‘एमालेको साइनो हरेक नेपालीसँग गाँसिएको छ’, ढुङ्गेलले भने । एमालेलाई कसैलाई हराउनको लागि होइन देशको विकास गर्न मत चाहिएको ढुङ्गेलले बताए । गठबन्धन दल भने एमालेलाई हराउनको लागि चुनावमा आएका उनले प्रष्ट पारे ।
एमालेका उम्मेदवार देशका सबै शक्तिका साझा उम्मेदवार भएको उनले बताए । ‘सबैका समस्या समाधान गर्छौँ, सबैका आँसु पुस्छौँ, एमाले सबैको अभिभावक पार्टी हो’, ढुङ्गेलले भने ।

लोकतन्त्रको रक्षा, समृद्ध नेपाल सुखी नेपालीको बाटोमा देशलाई हिँडाउन एमालेमा मतदान आवश्यक रहेको उनले बताए । ‘एमालेले जीते नेपाल संसारको स्वर्ग बन्छ, गठबन्धनले जीत भाँडभैलो हुन्छ’, ढुङ्गेलले भने ।
ढुङ्गेलले एमालेले आफ्नो शासन कालमा धेरै विकासका काम सुरु गरेको बताउँदै त्यसलाई पूरा गर्न पुनः सरकारमा जान जरुरी रहेको बताए । गठबन्धनले विकासका सबै काम रोकेकाले एमाले सरकारमा गएपछि विकासको ढोका खोल्ने उनले प्रष्ट पारे ।
प्रकाशित मिति : 16:20









