२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

मंसिर ४ गते गठबन्धन नामक लुतो फाल्ने दिन होः लालबाबु पण्डित

२० कार्तिक, मोरङ । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले मंसिर ४ गते गठबन्धन नामक लुतो फ्याल्ने दिन भएको बताएका छन् ।

हिसान मोरङ र विराटनगर प्याब्सनले आयोजना गरेको शिक्षासेवीहरुसँगको अन्तरक्रियामा नेता पण्डितले भने, ‘साधारण भाषामा भन्ने हो भने गठबन्धन नेपाली जनताको लुतो हो । हामीले वर्षमा एक दिन फाले झैं मंसिर ४ मा पनि यो लुतो फाल्ने हो । ’ब्यक्तिगत महत्वकांक्षा पूरा गर्ने उद्देश्यले गाँठागुठी जोडिएर गठबन्धन भएको टिप्पणी गरे ।

निर्वाचन अघि नै २ वर्ष शेरबहादुर देउवा २ वर्ष प्रचण्ड र १ वर्ष माधवकुमार नेपालले सरकार चलाउने सम्झौता भएको कुरा बाहिर आएको हैन भन्दै उनले अहिले नै अस्थिर राजनीतिको कुरा गर्नेहरुलाई फेरि पनि जिताउने हो भने मुलुक र जनताको भविष्य अन्धकारतिर धकेलिने नेता पण्डितले बताए। गाँठागुठी जोडिएर बनेको अहिलेको सरकारको शुसाशन, विकासको काम कहाँ गएर रोक्यो ? भन्दै मिहिन हिसाबले मूल्याङ्कन गर्ने बेला आएको नेता पण्डितले बताए।

यसअघि यहाँका जनताले मत दिएर चुनाव जितेर गएपछि आफूले जनताको शिर झुक्ने कुनै काम नगरेको बरु विकासले गति लिएको बताए। यहि निर्वाचन क्षेत्रमा ५ अर्ब भन्दा बढी केन्द्रीय बजेट आएर काम भइरहेको अवस्था दर्शाउँदै उनले प्रतिष्पर्धीहरु भने हिजो पिता पुर्खाको नाममा भोट माग्दै आइरहेको टिप्पणी गए । उनले भने, ‘हिजो चिन्दीन भन्ने, साइकललाई हेप्नेहरु अहिले अंश र बंशको कुरा गरेर भोट माग्दै हिडिरहेका छन् । उनले शिक्षण पेशामा आवद्द बौद्धिक व्यक्तित्वहरुले असल र खराब छुट्याएर नेकपा एमाले नेतृत्वको स्थायी सरकार बनाउन लाग्नुपर्ने बताए। अन्यथा फेरी पनि गंगटा जस्तो भएर च्यापाच्याप गर्ने सरकार बन्ने हो भने नेपाली जनता र देशको लागि अभिषाप हुने बताए ।

कार्यक्रममा हिसान प्रदेश १ का सचिव दिपेश बास्तोलाले सुनाएको कविताको एक अंशको जवाफ दिँदै नेता पण्डितले केहि कुरापनि झुठो बोल्नु नहुने तर कहिलेकाँही खराब मान्छेका कारण सबैलाई अफ्ठ्यारो हुने बताए। उनले केहि अल्पकालिन र केहि बहुवर्षीय कयोजनाहरु हुने स्मरण गराउँदै अल्पकालिनलाई वहुवर्षीय र वहुवर्षीयलाई अल्पकालिनका रुपमा बुझ्ने बुझाउने काम हुनसक्ने भएकाले त्यसलाई छुट्याउनुपर्ने बताए ।

कार्यक्रममा बाँस्तोलाले
आउँदा सबैका साझा नेता बनेर आउनु
गर्न सक्ने कति हो त्यो मात्र भनेर आउनु
आश्वासन बाँडेरै जित्छु भन्ने लाग्छ भने,
राजनीति छोड्ने दिन पनि गनेर आउनु
भन्ने कविता वाचन गर्दा हल गुन्जायमान भएको थियो । कार्यक्रममा मोरङ क्षेत्र नम्बर ४ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार जीवन घिमिरेले कसले कति काम गर्छ गरेको छ भन्ने बुझेर अघि बढ्न आग्रह गरे । उनले नेकपा एमाले नेतृत्वको सरकार आवश्यक रहेको सबैले बुझेकाले मुलुक र जनताको भविष्यका लागि प्रदेश र संघ दुवैमा एमालेको सरकार बनाउन भूमिका खेल्न आग्रह गरे ।

६ (क) का उम्मेदवार रीता न्यौपानेले स्थानीय जनताका सुझावका आधारमा वर्गीकरण गर्दै जनताको हितमा समर्पित रहने बताउनुभयो । ६(ख) का उम्मेदवार पर्शुराम बस्नेतले यूवा पुस्ताको प्रतिनिधित्व आफूले गरेको भन्दै त्यसैले आफूलाई गल्ति गर्ने छुट नभएको बताए । उनले विराटनगरले शैक्षिक क्षेत्रमा देशकै ध्यानआकृष्ट पार्ने गरि योगदान गरेको भन्दै चर्चा गरे।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रिय अध्यक्ष टिकाराम पुरीले समग्र देशको द्रुततर विकास चाहने हामीले स्थायी सरकारको पक्षमा लाग्नुपर्ने बताए । उनले गठबन्धन भन्नासाथ अस्थायी सरकार भन्ने बुझ्नुपर्ने भन्दै उनले टालाटुली बटुली झै खेलौनाको रुपमा देशको भविष्यलाई लैजान नहुने बताए। उनले दलहरुले हिजो गरेका गल्तिहरुलाई सुधार्दै सन्तानको लागि पनि एउटा पार्टीको स्थायी सरकारको पक्षमा बौद्धिजगत लाग्नुपर्ने बताए । उनले भने, यतिबेला एकल सरकार दिन सक्ने नेकपा एमाले मात्रै देखिएको छ ।’

प्रकाशित मिति : 07:32