६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

मतदातालाई कान्छारामको आश्वासनः व्यक्तिगत हेलिकोप्टरमार्फत लगेर उपचार गरिदिन्छ, भोट मलाई दिनुस्

१९ कात्तिक, रामेछाप । रामेछापमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पूर्ण बहादुर तामाङ (कान्छाराम)ले आफ्नो व्यक्तिगत हेलिकोप्टरमार्फत लगेर उपचार गरिदिने आवश्वासन दिँदै मतदातासँग भोट मागेका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति निजिकिँदै गर्दा चुनावी अभियानको क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कान्छारामले हेलिकोप्टरमा चढाउँने आश्वासन दिँदै मतदातासँग आफूलाई भोट दिन आग्रह गरेका हुन् । प्रतिनिधि सभा सदस्यले सामान्यतः आफ्नो जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, गुणस्तरीय शिक्षा, भूमी व्यवस्थापन, बेरोजगारीको व्यवस्थापन, सुशासन कायम गर्ने, बढ्ढो भ्रष्टाचारको न्यूनीकरण, मँगी नियन्त्रण, आवश्यक कानून निर्माण गर्ने जस्ता प्रतिबद्धता सहितका योजनाहरु लिएर मतदाँतासँग भोट माग्नु पर्ने हो ।

एउटा जनप्रतिनिधिले सत्ताका मालिक सार्वभौमसत्ता सम्पन्न नेपाली जनतासँग मत माग्ने क्रममा मैले व्यक्तिगत रुपमा हेलिकोप्टर लिएको छु, मलाई भोट दिनुस्, तपाइँहरु बिरामी हुँदा निःशुल्क ओसार्छु भन्दै चुनावी अभियानका क्रममा प्रचारप्रसार गर्नु लोकतन्त्रका खातिर शोभनीय कुरा होइन । आफ्नो व्यक्तिगत सम्पत्तिको प्रलोभनमा पारेर मतदातालाई आफूतिर आकर्षण गर्न खोज्नु भनेको उनीहरुलाई सधैँ आफूप्रति निर्भर बनाउन खोज्नु जस्तै हो । तर, गठबन्धनको तर्फबाट बनेका प्रतिनिधि सभा सदस्य उम्मेद्वार कान्छारामले भएको कानूनलाई लत्याउँदै मतदातासँग भोट मागेका छन् ।

गत असोज ३१ गते लिखुतामाकोशी गाउँपालिका वडा नं. ३ को चिलाउनेमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेलाई भोट नदिन आग्रह गरेका कान्छारामले आफूले व्यक्ति लगानीमा हेलिकोप्टर खरिद गरिसकेको बताएका थिए । ‘विगत १० वर्षदेखि हेलिकोप्टरमार्फत रामेछापका नागरिकको उद्धार गरेको स्मरण गराउँदै प्रतिनिधिसभा सदस्य कान्छारामले सवारी दुर्घटनामा परेका व्यक्ति, बाढी पीडित, सुत्केरीहरुको उद्धार गरेको बताए ।

उनले भने‘ मैले आफैँ व्यक्तिगत एउटा हेलिकोप्टर खरिद गरेको छु । रामेछापका सम्पूर्ण साथी, आमा, बुबा, दाजुभाइ, दिदी बहिनीहरुलाई; कुनै एक हजार रुपैयाँ पनि जम्मा गर्न सक्ने स्थिति छैन भन्यो भने त्यस्ता बिरामीहरुलाई आफैँ आएर काठमाडौँ लगेर उपचार गर्दिन्छु ।’ १०÷२० हजार रुपैयाँ निकाल्न सक्नेलाई हेलिकोप्टर तेल खर्च, इन्सुरेन्स खर्चसहित बाम्ती, गुम्देलबाट काठमाडौँसम्म लैजाँदा ७० हजार रुपैयाँ लाग्ने रहेछ, म त्यस्तै खर्चमा नाफा नलिई उपचार गराउनेमा छु; उनले भनेका थिए ।

यो कुरा आफ्ना शाखा, सन्तान, क्षेत्रीले क्षेत्रीलाई, तामाङले तामाङलाई, ब्राह्मणले ब्राह्मणलाई, आफ्नो नाता गोता सबैलाई सुनाउँदै सूर्य चिह्नमा भोट हाल्न हुँदैन भन्नु पर्ने कान्छारामले बताएका थिए । ‘यो कुरा तपाई यहाँ आउने सय जनालेमात्र सुनेर हुन्न, आफन्त नातागोता, सम्धी कुटुम्बलाई पनि सुनाउनुस्, उनले भने ।’ कान्छाराम क वर्गका ठेकेदार हुन् । उनी दोस्रोपटक चुनावी मैदानमा छन् । यसअघि वाम गठबन्धनसँग पराजित भएका कान्छाराम यसपटक माओवादीको समर्थनमा चुनाव लड्दैछन् ।

यता, जिल्ला निर्वाचन कार्यालय रामेछपका प्रमुख मधुकर शाहले मतदातालाई प्रलोभनमा पार्ने गरी अभिव्यक्ति दिन नहुने बताएका छन् । व्यक्तिगत वा सार्वजनिक सभा तथा मञ्चमा त्यसरी मतदातालाई प्रलोभनमा पार्ने गरी उम्मेद्वारले भोट माग्न नमिल्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख शाहले बताए । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को परिच्छेद–४ दफा २० उपदफा १ को (च) मा कुनै उम्मेद्वार वा प्रतिनिधिले कुनै लोभलालच वा आर्थिक प्रलोभन देखाउन नपाउने व्यवस्था छ । यसो गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा दई वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ ।

प्रकाशित मिति : November 5, 2022 at 7:08 pm