७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

१८ कार्तिक,  डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै छन् ।

सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन् । उनले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसकेका छन् । प्रधानमन्त्री देउवा यही कात्तिक २२ गतेसम्म जिल्लामा रहने कार्यक्रम तय भएको छ । उनी सातवटा चुनावीसभामा सहभागी हुने छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा कार्यकर्तासित भेटघाट गर्ने कार्यक्रम छ । चुनावीसभालाई प्रधानमन्त्री देउवासँगै कांग्रेस केन्द्रीय सदस्य एवं उहाँका धर्मपत्नी डा आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार खगराज भट्ट, प्रदेशसभा (ख) का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहरा, नेकपा (एकीकृत समाजवादी)की नेतृ निरा जैरु, जनमोर्चाका नेता नन्दराज भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त वाम–लोकतान्त्रिक गठवन्धनका चुनावी संयोजक भीमबहादुर साउदले जानकारी दिए ।

कांग्रेस डडेलधुराका सभापतिसमेत रहेका साउदका अनुसार प्रधानमन्त्री देउवाले आज बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, कात्तिक १९ गते अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रुपाल तथा कात्तिक २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : November 4, 2022 at 10:32 am