६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

अब आईपीओ निष्कासन गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १०% सेयर छुट्याउनुपर्ने

१७ कार्तिक, काठमाडाैं । धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौं संशोधन) निर्देशिका-२०७९ लागू गरेको छ । यो निर्देशिका लागू भएसँगै अब संगठित संस्थाहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत सेयर छुट्याउनुपर्ने भएको छ।

 नयाँ व्यवस्थाअनुसार अब संगठित संस्थाहरुले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नु अगावै सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्नेछ।

छुट्याएको सेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकि आव्हानपत्र प्रकाशित गर्नुपर्नेछ । सेयरमा आवेदन दिंदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्नेछ ।

निष्काशनमा आवेदन गर्न विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

विदेशमा रहेका नेपालीहरुलाई आईपीओ जारी गरेपछि मात्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न पाउने व्यवस्था पनि सेबोनले गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको आईपीओ बिक्री हुन बाँकी रहेको सेयर सर्वसाधारणका लागि थप गरी निष्कासन गर्न पाइने पनि संशोधित निर्देशिकामा उल्लेख छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १७:०२