आजदेखि सेयर कारोबार सुरु हुने, अब कता जाला बजार ?
१४ कार्तिक, काठमाडौं । आज कार्तिक १४ गते साेमबारदेखि नियमित रूपमा सेयर काराेबार सुरू हुने छ । एक साता बन्द रहेकाे सेयर बजारमा आज साेमबारदेखि नियमित काराेबार सुरू हुन लागेकाे हाे ।
सरकारले तिहार तथा छठको उपलक्ष्मा सार्वजनिक बिदा दिएसँगै गत कार्तिक ७ गते साेमबारदेखि सेयर बजार बन्द भएकाे थियो । कात्तिक ६ गते आइतबार सेयर बजारकाे अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यहि विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ ।
धेरै कम्पनीहरुले धमाधम सेयरधनीहरूलाई दिने लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भन्ने आम लगानीकर्ताहरूकाे चासाेकाे बिषय बनेकाे छ ।

अहिले सेयर लगानीकर्ताहरू आफ्नाे लगानी डुब्ने त हैन भनेर चिन्तित छन् । कुनै समय ३२ सयकाे बिन्दुमा रहेकाे नेप्से सूचक अहिले करिब १८ सयकाे हाराहारीमा आएकाे छ । यस्ले पनि लगानीकर्ताहरूलाई झन निशास बनाएकाे छ ।
तिहार अघिको अन्तिम काराेबारकाे दिनको भने बजार सकारात्मक बनेको थियो । यसले अब बजारले विस्तारै सकारात्मक गति समाउने धेरैको अपेक्षा रहेको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ०९:४६













