२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

१५ महिनामा दुई नेपालीको ज्यान गएपछि भारतलाई ठुल्दाई प्रवृत्ति त्याग्न अनेरास्ववियुको चेतावनी

१४ कार्तिक, काठमाडाैँ । अनेरास्ववियुले नेपालीहरूको ज्यान लिनेसम्मका गतिबिधिमा नलाग्न भारतलाई चेतावनी दिएकको छ । अनेरास्ववियुले शनिबार विज्ञप्ति जारी गर्दै दार्चुला घटना नदोहोराउन र ठुल्दाई प्रवृत्ति त्याग्न चेतावनी दिएको हो । नेपाल सरकार लाचार बनेको भन्दै अनेरास्ववियुले सिधै भारतलाई चेतावनी दिएको हो ।

शुक्रबार भारतीय पक्षको लापरवाहीले दार्चुलाका ९ वर्षीय बालक पवन महराको ढुंगाले लागेर मृत्यु भएको थियो । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विज्ञप्ति मार्फत भनेकी छिन, ‘ अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्‍याउन नपाइने मान्यता विपरीत, विस्फोट गराउनै पर्ने भए विस्फोट अवधिभर प्रभावित क्षेत्रमा मानिसलाई आवतजावतमा रोक लगाई एकअर्का देशका प्रशासनबीच समन्वय हुनुपर्नेमा, विस्फोटअघि भारतीय पक्षले कुनै सूचना नदिई विस्फोट गराँउदा घटना घटेको हुँदा यस घटनामा सरासर भारतीय पक्षको गम्भीर त्रुटि रहेको छ । यस विषयमा हालसम्म पनि देउवा नेतृत्वको नालायक सरकार मौन छ, सरकारले भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट कुनै कुरा राखेको छैन, लाचर सरकार जनताको जीउधानको सुरक्षामा कति पनि सम्वेदनशील नरहेको पुष्टि हुन्छ ।’

त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ अनेरास्ववियु यी र यस्ता खाले गलत हर्कतका विरुद्ध भारतीय पक्षको घोर भर्त्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको सत्यतथ्य छानविन गरी बाहिर ल्याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । घाइते बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । साथै पटक पटक यस्ता घटना नदोहोराउन भारतीय पक्षलाई सम्वेदनशील हुन र ठुल्दाई प्रवृत्ति त्याग्न अनेरास्ववियु चेतावनी दिन चाहन्छ ।’

प्रकाशित मिति : 09:53