२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

दार्चुला घटना: आवश्यक समन्वय र पहल गरिदिन परराष्ट्रलाई गृह मन्त्रालयको आग्रह

१२ कार्तिक, काठमाडाैँ । भारत उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको भन्ने घट्नाका सम्बन्धमा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।

यही कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ्ग गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराको छोरा करिब १० वर्षका पवन महराको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले उक्त घटनाको थप अनुसन्धान भइरहेको साथै उक्त घटनाबाट पीडित परिवारका सदस्यहरुलाई क्षतिपूर्ति दिलाउने सम्बन्धमा कूटनैतिक तबरबाट आवश्यक समन्वय गरिदिनुहुन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको उल्लेख गरेको छ ।

सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा पर्याप्त सुरक्षा सतर्कता अपनाउन, स्थानीयलाई समेत पूर्व सावधानी अपनाउनका लागि स्थानीय प्रशासन समेतको समन्वयमा जानकारी गराउन तथा घटनाबाट पीडित परिवारका सदस्यलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा आवश्यक समन्वय तथा पहल गरिदिनका लागि गृह मन्त्रालयले पत्रमार्फत परराष्ट्र मन्त्रालयलाई आज अनुरोध गरेको हो ।

प्रकाशित मिति : October 29, 2022 at 10:50 pm