ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज
१२ कार्तिक, काठमाडाैँ । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु भएका डा. तोसिमा कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको छ । डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकोले निजको उम्मेदवारी खारेज गरी पाउँ भनी मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेश भएकोमा सो उजुरीका सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानूनी व्यवस्था बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजातहरू प्राप्त भएको र त्यसमा आयोगले शनिबार निर्णय गरेको हो ।
डा. कार्की मिति २०७८।९।२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा वहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइएको निर्वाचन आयोगले जनाएको छ ।

‘नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को ख (६) मा पारिश्रमिक भन्नाले तलब भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेत सम्झनु पर्छ भन्ने व्यवस्था समेतका आधारमा भत्ता पारिश्रमिक भित्रै पर्ने देखिएकोले निज डा. कार्की हाल बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक पद नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायतका आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेको र उम्मेदवार मनोनयनको क्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको (घ) मा कुनै संघीय कानूनले अयोग्य नभएको र (च) मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछाप समेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी निज डा. कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिनु खानु गरिरहेको देखिएकेले निजले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन आएन ।’ निर्वाचन आयोगको निर्णयमा भनिएको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम निजको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम निज डा. कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी निर्णय भएको जनाएको छ ।
रबी लामिछाने नेतृत्वको राष्ट्रीय स्वतन्त्र पार्टीका ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार कार्कीले भने आयोगको निर्णयविरूद्ध अदालत जाने बताएकी छिन । उनले आयोगले एक विज्ञप्तीमाफर्त कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भए लगत्तै कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु आयोगको निर्णय विरुद्ध अदालत जाने बताएकी हुन् । आधिकारिक पत्र नपाए पनि समाचारमा म तोसिमा कार्कीको ललितपुर क्षेत्र नं ३ को उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको छु । यसबारे प्रष्ट पार्न यो स्टाटस पोस्ट गर्दैछु । उनले लेखेकी छन् ।
उनले उम्मेदवारी दिनु अघि नै कानुनविद्सँग छलफल गर्दा नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा रहेको भन्दै यस बारेमा मनोनयन दर्ता गर्नु अघि नै आफुले निर्वाचन आयोगले यस बारेमा जानकारी गराए पनि आयोग त्यस निवेदनबारे उक्त समयमा मौन बसेर अहिले उम्मेदवारी खारेज गर्ने निर्णय गर्नुले आयोगको निष्पक्षतमा शंका व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : 22:29









