भारतीय ज्यादतीबारे ओलीको प्रश्नः प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?
१२ कात्तिक, काठमाडाैं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन् । उनले भारतले नेपालमाथि गरने गरेका ज्यादतीमा विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा मौन रहेको बताएका छन् ।
भारतले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । एमाले अध्यक्ष ओलीले शनिबार सामाजिक संजाल फेसबुकमा पवन महराको मृत्युबारे दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवामाथि प्रश्न उठाएका हुन् ।
उनले लेखेका छन्, ‘नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका– २ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन्,’ ओलीले देउवालाई सोधेका छन्, ‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’
प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार १५:१८