१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सन्धिखर्क विमानस्थलमा दुर्घटना, दुई जनाको मृत्यु

११ कार्तिक,  अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गए राति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रदेश नं२–०३८प५०३२ नंको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए ।

यस्तै बा २५ प ८८७६ नंको मोटरसाइकलमा सवार सन्धिखर्क–२ आटिकापाटा ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइते दुवैको बुटवलस्थित मर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

अत्यधिक गतिका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १०:४९