नेप्सेद्धारा दुई फण्डको कारोबार फुकुवा
६ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ वटा दुई फण्डको कारोबार फुकुवा गरेको छ । नेप्सेले नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ को राेक्का रहेकाे कारोबार फुकुवा गरेको हो ।
धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नियम पालना नगरेको भन्दै नेप्सेले यी दुई फण्डको कारोबार असोज २६ गते बाट रोक्का गरेको थियो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले लाभांश घोषणाको सूचना कारोबार समयमा पठाउनु मानवीय त्रुटी भएको र अब उप्रान्त त्यस्तो कमीरकमजोरी नगर्ने र नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दै क्षमायाचना मागेकोले कार्तिक १४ गतेदेखि लागू हुने गरी कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको असोज २५ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरूलाई करसहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १६:४४













