२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

‘कालजयी नेपाली कविता’ प्रकाशित

१ असाेज, काठमाडाैं । कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गर्नुभएको छ । सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विसं १८३१) देखि समकालीन कविता फाँटका प्रतिनिधि कविहरूको कवितालाई सम्पादन गरी कृतिमा समावेश गरिएको छ ।

वीपी कोइराला नेपाल भारत फाउन्डेशनद्वारा प्रकाशित उक्त कृतिमा यस अवधिका एकसय एक कविहरूका एक/एकवटा कालजयी कविता सङ्गृहीत छन् । सम्पादक क्षेत्रीका अनुसार निकट भविष्यमै कृतिलाई हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरेर प्रकाशन गरिनेछ ।

नेपाली कविता परम्परामा प्रत्येक कालखण्डका केही कविता भाषा, शैली, शिल्प र समयसापेक्ष जस्ता विशिष्ट गुण भएका पाइएको सम्पादक क्षेत्रीले बताए । उनका अनुसार समयसीमामा नबाँधिई अमरत्व प्राप्त गरेका कालजयी कविताहरू एकै ठाउँमा सङ्कलन हुन सकेको थिएन ।

विशेषगरी नेपाली कविताको विभिन्न मोड, आयाम र प्रवृत्तिलाई समाविष्ट गर्न नसकिएको अवस्थामा यो सङ्कलन नेपाली साहित्यका गम्भीर पाठक, अध्येता र शोधकर्ताका लागि निकै उपयोगी, पठनीय र सङ्ग्रहणीय हुने विश्वास फाउन्डेशनले लिएको छ ।

प्रथम कवि सुवानन्द दास, यदुनाथ पोखर्याल, भानुभक्त आचार्य, ज्ञान दिलदास, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, मोहन कोइराला, भूपि शेरचन, हरिभक्त कटुवाल, पारिजात, ईश्वर वल्लभ, वैरागी काइँला, तुलसी दिवस, वानिरा गिरि, कुन्ता शर्मा, कृष्णभुषण बल, विष्णुविभु घिमिरे, सरूभक्त, कृष्ण सेन इच्छुक, दिनेश अधिकारी, दुबसु क्षेत्री, श्रवण मुकारुङ आदिका बहुचर्चित कविताहरू सङ्कलित प्रस्तुत सङ्ग्रह नेपाली कविताको इतिहासमा कोसेढुङ्गा सावित हुने विश्वास प्रकाशकले लिएको छ ।

“यो सङ्कलन जातीय, भाषिक, लैङ्गिक र वर्गीय दृष्टिकोणले कुनै आग्रह वा पूर्वाग्रहबाट ग्रसित छैन”, सम्पादक क्षेत्रीले भने, “लेखनकै चिरन्तन र अमरतामा आधारित भएर कविता सङ्कलन गरिएको यो कृति समग्र नेपाली कविताको प्रतिनिधि र कालजयी सङ्कलन बनेको विश्वास लिएको छु ।”

प्रकाशित मिति : September 17, 2022 at 11:45 am