१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

आधुनिक प्रेमका विविध समस्या उजागर गर्दै ‘अप्रिल फुल’

–मीना घोरसाइने
२४ भदाै, काठमाडाैँ । संसारमा प्रेम यस्तो चिज हो, जसले संसारका सबै घृणालाई नै मायामा परिणत गरिदिन्छ । यही प्रेममा कसैले धोका पायो भने उसको मनलाई नै कुरुप बनाइदिन्छ, कहिलेकाहीँ मानिस जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने मोडमा पुग्छ । आधुनिक प्रेमका विषयमा लेखक तथा पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ ले यस्तै कुरालाई केन्द्रित गर्न खोजेको छ । लेखक भन्नुहुन्छ, “अहिलेका युवापुस्तामा मैले जस्तो समस्या देखँें, त्यसलाई मैले उपन्यासका रुपमा उतारेंँ ।” आफूले उपन्यास लेखनका लागि चार वर्षअघि नै शुरु गरे पनि अहिले मात्र प्रकाशन गर्न सफल भएको बताउँदै उहाँ भन्नुहुन्छ, “लेखनको अन्तरालमा मैले धेरै कुरा सिक्ने अवसर पाएँ ।”


उपन्यासका मुख्य पात्र शिशिर काठमाडौँमा बस्दै आएका छन् । उनी पढाइको सिलसिलामा यहाँ आएका हुन् । आफ्नो परिवारभन्दा धेरै टाढा छन् । त्यस्तै उपन्यासकी अर्की मुख्य पात्र जिना हुन् । उनी डान्सबारमा नृत्य गर्छिन् । उनकोे परिवार उसैले नृत्य गरेको पैसाबाट नै चल्ने गरेको छ । काम गर्दागर्दै उनी देहव्यापारसम्मको अवस्थामा पुगेकी हुन्छिन् । उनको धेरैजनासँग शारीरिक सम्बन्ध स्थापित भइसकेको हुन्छ ।
एकदिन शिशिर बारमा जाने क्रममा जिनासँग भेट हुन्छ । उनीहरु विस्तारै एकार्काका साथी बन्छन्, उनीहरुबीच प्रेम हुन्छ र शिशिरले जिनालाई आफ्नो प्रेमका कारण परिवर्तन गरिदिन्छन् । जिना पनि बारको काम छाडेर अर्कै काम गर्न थाल्छिन् । उनीहरुबीच शारीरिक सम्बन्ध त स्थापित हुँदैन तर एकार्कालाई एकदमै माया गर्छन् । शिशिरले जिनासँग विवाहका लागि आफ्नो परिवारसँग कुरा राख्छन् । परिवारले भने उनीहरुको विवाहलाई अस्वीकार गर्छ, कारण जिनाको बितेको जीवन थियो । शिशिर आफ्नो परिवारले नमानेपछि जिनासँग भागेर विवाह गर्ने निधो गर्छन् ।

शिशिरको प्रस्ताव आउनुभन्दा अगावै जिनाले पत्र लेखेर ऊसँग कहिल्यै नभेट्ने वाचा गर्दै टाढा जान्छिन् । जिनाको धोका सहन नसकेपछि शिशिरले धेरै युवतीसँग शारीरिक सम्बन्ध स्थापित गर्दै हिँड्छन् र कुलतमा फस्न थाल्छन् । आचार्यको उपन्यासका बारेमा उपन्यासकार कृष्ण धरावासी भन्नुहुन्छ, “यो बिल्कुलै किशोर साहित्य हो, यस उपन्यासले युवाको मनस्थितिलाई चित्रण गर्न खोजेको छ ।” आचार्यको उपन्यास पठनीय रहेको भन्दै उहाँ थप्नुहुन्छ, “उपन्यासले समाजको परपीडक मानसिकतालाई चित्रण गर्न खोजेको छ ।” उपन्यासकारले कहिल्यै आफ्नो धैर्य छोड्न नहुने उहाँको भनाइ छ ।

उपन्यास पढ्दै जाँदा नारीको आकर्षणलाई भन्दा बढी प्रेमलाई नै मान्यता दिनुपर्ने कुरा सबैलाई आभास हुन थाल्छ । “यो उपन्यासले नारीमा नै संसार अडेको हुन्छ भन्ने चित्रण गरेको छ”, उपन्यासकार ज्योति ‘जंगल’आचार्य उपन्यासका विषयमा भन्नुहुन्छ,“मानिस प्रेमबाट धोका खाएर यसलाई तिरस्कार गर्न खोजेमा पनि ऊ अन्ततः प्रेमकै शरणमा पुग्छ ।” प्रस्तुत उपन्यासले वर्तमान समाजका युवाको विकराल मानसिक समस्यालाई चित्रण गर्न खोजको अनुभव उहाँको छ । समग्रमा उपन्यासले वर्तमान युवा पुस्तालाई प्रेममा धोका खाए पनि कुलतमा भने लाग्न नहुने सन्देश दिन खोजेको छ । यो आचार्यको पहिलो उपन्यास हो ।

प्रकाशित मिति : September 9, 2018 at 5:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/