१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

विदुर खानेपानीको निर्वाचनमा सत्ता गठबन्धन पत्तासाफ, एमालेको प्यानल नै विजयी

२३ भदौ, नुवाकोट । विदुर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन पत्तासाफ (क्लीनस्वीप) भएको छ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, जगदिश्वरनरसिंह केसी, विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठसहित नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरू निर्वाचनका लागि मैदानमै देखिएका थिए तर खानेपानीका उपभोक्ताले पाँच दलीय गठबन्धन अस्वीकार गरेका छन ।

स्थानीय निर्वाचनमा अन्तर्घातले हार व्यहोरेको एमालेले खोनपानी उपभोक्ता संस्थाको चुनावमा गठबन्धनलाई पत्तासाफ गरेर केही राहतको महशुष गरेको छ । निर्वाचनमा एमालेले विदुर नगर कमिटीका सचिव अनुजकुमार श्रेष्ठले कमाण्ड सम्हालेका थिए भने उनलाई एमालेका पूर्व जिल्ला अध्यक्ष नारायण खतिवडा लगायतले मैदानमै उत्रिएर सहयोग गरेका थिए ।

कुल ३१४१ मतदाता रहेको खानेपानी संस्थामा बुधबार भएको निर्वाचनमा २३२५ मत खसेको थियाे । मतपरिणाम अनुसार सबै पदमा एमालेका उम्मेदवार भारी मतान्तरमा विजयी भएका छन ।

एमालेका नेता सञ्जिवबहादुर श्रेष्ठले अध्यक्षमा १२७१ मत प्राप्त गरेका छन । पाँच दलीय सत्ता गठबन्धनका  तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता छत्रराज डंगोलले ९४७ मत प्राप्त गरेका छन ।

श्रेष्ठले ३२४ मतान्तरमा विजय प्राप्त गरेका छन । श्रेष्ठको प्यानलले नै सुरूवातदेखि नै निरन्तर अग्रता लिएको थियो । उपाध्यक्षमा झिनो मतान्तरमा गठबन्धनको उम्मेदवार बन्न पुगेका एमालेका नवराज न्याैपाने विजयी भएका छन । उनी ३८ मतान्तरमा विजयी भए । श्रेष्ठको प्यानलका उम्मेदवार रहेका राप्रपाका महेशकुमार डंगोल पराजित भए ।

खानेपानीको चुनावमा सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा लगायत एकै प्यानल बनाएर मैदानमा उत्रिएका थिए । तर एमाले एक्लै उनीहरूका लागि भारी भएको छ ।

सन्जिव बहादुर श्रेष्ठ नेकपा एमालेको विदुर नगरपालिका इन्चार्ज समेत हुन । उनको प्यानलमा उपाध्यक्षमा महेश कुमार डंगोल, सचिवमा राजेन्द्र पाण्डे, कोषाध्याक्षमा अम्विका चित्रकार (खनाल), महिला सदस्यमा विष्णुमाया डंगोल, सीता अधिकारी र सदस्यहरूमा कृष्णप्रसाद भट्ट, लव प्रसाद न्यौपाने र दीपकबहादुर तिम्सिना रहेका थिए । प्यानलमा रहेका मध्ये उपाध्यक्ष डंगोल बाहेक सबै विजयी भएका छन ।

कांग्रेस निकटको डंगोल प्यानलबाट उपाध्यक्षमा नवराज न्यौपाने, सचिवमा नरेश बहादुर डंगोल, कोषाध्यक्षमा रबिता भट्ट रहेकी थिइन । स्वतन्त्रबाट उपाध्यक्षको उम्मेदवार बनेका मुरारी नेपालले २२७ मत प्राप्त गरेका छन भने सदस्यमा विमल खड्काले स्वतन्त्रबाटै १८२ मत प्राप्त गरेका छन ।

विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा खानेपानी वितरणमा संस्थाले काम गर्दै आएको छ । अनेक भ्रष्टाचार र कवाडी काण्ड झेलिरहेको संस्था नयाँ नेतृत्वले सुधारको बाटोमा जाने उपभोक्ताले अपेक्षा गरेका छन ।

पूरै मतपरिणाम तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार २२:१०