६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

प्रहरीकै अघि नेविसंघका नेताले विश्वविद्यालयमा तोडफोड र माइन्युट कब्जा गरेः त्रिवि


१२ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय कार्यालयले प्रहरीकै अघि विश्वविद्यालयमा तोडफोड र माइन्युटसहितका महत्वपूर्ण कागजात नेपाल विद्यार्थी संघले नियन्त्रण लिएको छ । विश्वविद्यालयले अाइतबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको हो ।

विश्वविद्यालयले भरपर्दो सुरक्षाकर्मी व्यवस्था गर्न गृह मन्त्रालयसँग अनुरोध पनि गरेको छ । आइतबार पत्रकार सम्मेलन पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक नागरिक तथा राष्ट्रसेवक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने, पेशा वा रोजगार गर्न पाउने संविधान तथा कानूनले प्रत्याभूत गरेको संवैधानिक तथा कानूनी हकको विपरीत हुनेगरी कानून आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबरजस्ति प्रवेश गरी जनताको करबाट उठेको रकमबाट खरिद गरिएका सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीहरू प्रति दुर्व्यबहार गर्ने कार्यले विश्वविद्यालयको नियमित कामहरू प्रभावित भएका छन् ।’

यस्तो विज्ञप्ति

त्रिभुवन विश्वविद्यालयबाट जारी विज्ञप्ति

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघ कीर्तिपुरका विद्यार्थीको केही समुहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने विश्वविद्यालयको दैनिक काम कारवाही गर्दा बारम्बार कार्यालयमा जवरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ति प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेकाले विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टीले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक कान्तिपथ, जमलस्थित होटल एल्लो प्यागोडामा मिति २०७९/५/१० को दिन बेलकी ४:३० बजे बस्ने क्रममा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी संघसँग आबद्ध विद्यार्थी हौ भन्दै १०/१५ जनाको समूह जवरजस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णय सहितको पुस्तिका एवं अन्य महत्वपूर्ण कागजपत्र र फाइलहरू खोस्ने / कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्ने आदि जस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण कागजात लुटी लिने कार्य गरेको प्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

देशको अस्तित्वसँग सार्थक सम्बन्ध रहेको शिक्षा क्षेत्रको धरोहर बनेको मन्दिर त्रिभुवन विश्वविद्यालय जस्तो शिक्षण संस्थाका पदाधिकारी एवं कर्मचारी प्रति गरिएका यस्ता गतिविधिहरूलाई सभ्य समाजका कुनै पनि व्यक्तिले स्वभाविक मान्न सक्दैन । प्रत्येक नागरिक तथा राष्ट्रसेवक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने, पेशा वा रोजगार गर्न पाउने संविधान तथा कानूनले प्रत्याभूत गरेको संवैधानिक तथा कानूनी हकको विपरीत हुनेगरी कानून आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबरजस्ति प्रवेश गरी जनताको करबाट उठेको रकमबाट खरिद गरिएका सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीहरू प्रति दुर्व्यबहार
गर्ने कार्यले विश्वविद्यालयको नियमित कामहरू प्रभावित भएका छन् ।

देशको विभिन्न भागमा रहेका विश्वविद्यालयका क्याम्पस कार्यालयहरूको आर्थिक व्यवस्थापन गर्ने र मूल आर्थिक कारोवार हुने त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको लेखा शाखामा तालाबन्दी भएको कारणले मुलुक भरीका क्याम्पस कार्यालयहरूका कर्मचारीहरूले गत असार महिनादेखि नै तलब पाउन सकेका छैनन् भने निवृत्त भएका शिक्षक तथा कर्मचारीहरू निवृत्तभरण तथा उपदान लगायतका सुविधा पाउनबाट बञ्चित भएका छन् । त्यस्तै विभिन्न निर्माण व्यवसायी एवं विद्युत प्राधिकरण, टेलिफोन तथा खानेपानीको नियमित रूपमा भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी नगर्दा त्यस बापत विश्वविद्यालयले लाखौ रूपैयाँ जरिवाना शुल्क बुझाउनुपर्ने स्थिति सिर्जना भएको छ ।

केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक कामकारबाही रोकिएका छन् । यसरी विश्वविद्यालयललाई नै बन्धक बनाउने गरी तालाबन्दी गर्ने समुहको खोजी गरी त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाही गर्नुको अतिरिक्त त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिनुहुन नेपाल सरकार गृह मन्त्रालय समक्ष विश्वविद्यालय अपिल गर्दछ ।

साथै नेपालको उच्च शिक्षामा देखिएको यस किसिमका गतिविधिले देशलाई अझ पछाडि धकेल्ने कुरालाई महसुस गर्दै यस किसिमका अराजकता रोक्न नागरिक समाज, पत्रकार र सबै नागरिकले आ-आफ्नो ठाउँबाट सार्थक पहल गरिदिनु हुन विश्वविद्यालय हार्दिक अनुरोध गर्दछ । विश्वविद्यालयको पदाधिकारी एवं कर्मचारीहरूको भरपर्दो शान्ति सुरक्षाको अभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाई हुने भएकोले शान्ति सुरक्षाको व्यवस्थापन नभएको अवस्थामा विश्वविद्यालयको गरिमा कायम राख्नको लागि विश्वविद्यालयले दुखद निर्णय लिन बाध्य हुने व्यहोरा समेत अनुरोध गर्दछ ।

मितिः २०७९/०५/११

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार ११:५४