१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

बालेनले पनि सहमति कार्यान्वयन नगरेपछि सधैँका लागि फोहोर बन्द गर्ने बञ्चरेडाँडाबासीको चेतावनी


२३ साउन, काठमाडौँ । नुवाकोट र धादिङको सीमामा रहेको बञ्चरेडाँडामा स्थायी रूपमै फोहोर बन्द गर्ने चेतावनी स्थानीयले दिएका छन । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको नेतृत्व गरिरहेको काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा गरेका सहमति कार्यान्वयन नगरेपछि स्थानीय फेरि आन्दोलित भएका छन ।

पछिल्लो समय स्थानीयहरूसँग महानगरका मेयर बालेन्द्र साह बलेनसहितको उपस्थितिमा गरेको १८ बुँदे सहमति कार्यान्वयनमा महानगरले कुनै पनि ध्यान नदिएपछि स्थानीयले आइतबारबाट पुनः फोहोर बिसर्जनमा अबरोध सिर्जना गरेका छन ।

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर १ का स्थानीय ३२ जनाले आइतबार वडा कार्यालयमा संयुक्त निवेदन दिएर १८ बुँदे माग पूरा नभए फोहोर व्यवस्थापन स्थायी रूपमा बन्द गर्ने जानकारी गराएका छन । स्थानीयको जानकारीको आधारमा वडा अध्यक्ष मानबहादुर तामाङले एक विज्ञप्ति प्रकाशितगरी सहमति कार्यान्वयन नगरी फोहोर व्यवस्थापन नगर्न अनुरोध गरेका छन ।

यस्तो छ वडा अध्यक्ष तामाङको विज्ञप्ति, ‘प्रस्तुत विषयमा काठमाण्डौ उपत्यकाको फोहोरमैला व्यवस्थापन हुदै आएको सिसडोल बञ्चरेडाँडा-कुंडुले ल्याण्डफिल्ड साइटमा फोहोरमैला व्यवस्थापनमा सहजताका लागि मिति २०७९/०२/२३ गते नेपाल सरकार शहरी विकास मन्त्रालय तथा यस धुनिबेशी न.पा. र ककनी गा.पा.विच भएको सम्भौता साथै मिति २०७९/०२/२६ गते भएको काठमाण्डौ महानगरपालिका र उक्त स्थानिय तहका वडा अध्यक्ष ज्यूहरु बिचको १८ बुंदे सम्झौता समेतको १८ बुंदाहरु मध्य हालसम्म १ बुंदा समेत कार्यान्वयन नगरिको सन्दर्भमा आज मिति २०७९/०४/२२ गते भएको फोहोरमैला प्रभावित स्थानिय बासिन्दाहरुको फोहोरमैला विसर्जन हुने स्थानमा भएको अवरोध तथा विरोध र धुनिबेशी न.पा. १ नं. वडा कार्यालमा
उपस्थित भई फोहोरमैला विसर्जन गर्ने कार्यमा जन जिवन निकै कष्टकर भएकोले फोहोरमैला संधाको लागि उक्त ल्याण्डफिल्ड साईटमा विसर्जन हुने कार्य बन्द गर्ने कार्यमा पहल गरि दिनुहुन भनि स्थानियहरु ३२ जनाको लिखित निवेदन पर्न आएकोले सहमतीका बुंदाहरु कमागत रुपमा कार्यान्ययन नहुन्जेल सम्मका लागि फोहोरमैला विसर्जन गर्ने कार्य नगरिदिनुहुन सम्बन्धित निकायसंग अनुरोध गर्दै यो विज्ञप्ती प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ०९:१२