१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेश अध्यक्षमा विष्णुप्रसाद अधिकारी


२२ साउन, पोखरा । नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेश अध्यक्षमा विष्णुप्रसाद अधिकारी चयन भएका छन । शनिबार पोखरामा भएको सम्मेलनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सम्मेलनले २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा विजयराज पन्त, सचिवमा हेमचन्द्र चौलागाई, सचिवमा होमनाथ तिवारी र कोषाध्यक्षमा सन्तोष अधिकारीलाइ चयन गरेको छ ।

सो सम्मेलनमा नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय स्तरमा उठेका मुद्दा र सवालहरुमा सही र तथ्यपरक विश्लेषण आवश्यक भएको बताए  । गुरुङले तथ्यपरक विश्लेषणको अभावमा जनमत भड्किन्छ भन्दै प्राध्यापकहरुले अनुसन्धान गरेर वास्तविकतालाई उजागर गरी सही जनमत निर्माणको आधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले संगठनको संचालनमा विधि र पद्धतिको पालनालाई जोड दिन सुझाव दिए ।

कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. भरत पहारी, नेपाल प्रगतिशील प्राध्यापक संगठनका सचिव कृष्णराज अधिकारी र देवराज अर्यालले पनि मन्तव्य राखेका थिए । त्यसअधि डा. श्रीकान्त खतिवडाले आर्थिक समृद्धिका लागि पर्यटन शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य अनिश दाहाल, विनोद जोशी जीवनाथ तिम्सिना, गिरधारी दाहाल, धनेश्वर रखालको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार ०८:२३