नुवाकोट कांग्रेसका नेता पौडेलमाथि टिकट बेचेको आरोप, कारबाहीका लागि सिफारिस
१२ साउन, नुवाकोट । गत वैशाख ३० को स्थानीय चुनावमा नुवाकोट जिल्लामा नेपाली कांग्रेसभित्र टिकट वितरणमा व्यापक आर्थिक चलखेलको हल्ला चलेको भएपनि पार्टी बैठकमा खासै छलफल र बहस भएको सुनिएको थिएन ।
मंगलबार सूर्यगढीको कांग्रेसले बैठकमा छलफल गरेर टिकट बेच्नेमाथि हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै पार्टीको जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा लेखेर पठाउने निर्णय गरेको छ ।

कांग्रेस सूर्यगढीका सभापति शंकर बहादुर प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले कांग्रेसकै नुवाकोट क्षेत्र नम्बर १ प्रदेश ख का सभापति रामजी पौडेलले टिकट वितरणमा व्यापक आर्थिक चलखेल गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो ।
दैनिकीलाई प्राप्त माइन्युटमा पौडेल माथि सूर्यगढी गाउँपालिका भित्र अनधिकृत रूपमा पार्टीका बैठकहरू गरेर पार्टीभित्र विखण्डन ल्याएको समेत आरोप लगाइएको छ । सोही निर्णयमा नेपाली कांग्रेसको विधान २०१७ (२०७५ को संशोधनसहित) परिच्छेद ९ को नियम ८ अनुसार हदैसम्मको कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिमा लेखी पठाउने उल्लेख गरिएको छ । उक्त बैठकमा गाउँ कार्यसमितिका अलवा अन्य समितिका सदस्यहरू ३८ जनाको पनि सहभागिता रहेको देखिएको छ ।
प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०८:२३












