८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

योगेश भट्टराईकाे प्रश्नः नेपाल मंकीपक्स संक्रमणकाे जोखिममा छ, सरकार निद्राको अवस्थामा किन ?

१० साउन, काठमाडाैं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल मंकीपक्स भाइरस सङ्क्रमणको जोखिममा रहेको भन्दै रोकथाम र नियन्त्रण गर्न माग गरेका छन् ।

प्रतिनिधि सभामाकाे मंगलबार बसेको बैठकमा सभामुखसँग समय मागेर बोल्दै सांसद भट्टराईले सरकारले यो संक्रमण रोकथामका लागि सार्वजनिक ढङ्गले सचेतना जगाउने काम नगरेको बताए ।

उनले भने, ‘मंकीपक्स भाइरस रोकथामका लागि सरकारले सचेतना जगाउने काम गरेको छैन । एक किसिमले भन्ने हो भने सरकार चिर निद्राको अवस्थामा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसबारेमा सतर्कता जारी गरिसकेको छ । हाम्रो सिमानाहरूमा अहिलेसम्म साइनबोर्ड समेत राखिएको छैन । हाम्रो एयरपोर्टहरूमा सचेतनाका लागि एउटा बोर्ड पनि राखिएको छैन ।

नेपालका सञ्चारमाध्यमबाट कुनै सूचना जारी गरेको छैन । भारतमा यसका केसहरू देखिइसकेको अवस्थामा यसको भयानक अवस्थाबाट अब हामी टाढा छैनौँ ।’

उनले यसबारेमा सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । उनले मंकीपक्स भाइरस नेपाल प्रवेश रोक्न पूर्व सतर्कता अपनाउनका लागि पनि आग्रह गरे ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १४:०६