नुवाकोटको बेलकोटगढी नगरपालिकाका भूकम्प पीडितले अब सहजै तेस्रो किस्ता पाउने
–दुर्गा पुडासैनी
१८ भदौ, नुवाकोट । भूकम्प पीडितको गुनासो सम्बोधन गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिकाले तेस्रो किस्ताको वितरणलाई केही सहज बनाएको छ । भूकम्प पीडितको समस्या समाधानमा वेवास्त गरेको आरोप लाग्न थालेपछि नगरपालिकाले तेस्रो किस्ताको वितरणलाई केही खुकुलो र सहज बनाएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयले तयार गरेको १९ वटा नक्सा अनुसार तयार भएका घरहरुले नक्सापास बिनानै तेस्रो किस्ता वितरणको बाटो खोलेको बेलकोटगढी नगरपालिककी उपमेयर कविता ढुंगानाले बताइन ।
नगरपालिकाले सुरुमै यस्तो व्यवस्था गर्न खोजे पनि शहरी विकास तथा भवन डिभिजन कार्यालयले नगरपालिकाभित्र नक्सापास अनिवार्य गर्नुपर्ने भन्ने शर्त तेर्साएका कारण तेस्रो किस्ता वितरणमा केही ढिलाई र असहजता देखिएको ढुंगानाले बताइन । उनले अब भूकम्प पीडितहरुले दोस्रो किस्ताजस्तै गरी सरल प्रक्रियाबाट तेस्रो किस्ताको रकम पाउने जानकारी दिइन ।

नगरपालिकाले सहज रुपमा नक्सा पास गराउन पनि नसक्ने र पीडितले राहतका लागि लामो समय कुर्नुपर्न अवस्थाको अन्त्य गर्न यो निर्णय सहयोगी हुने बुझिएको छ । अब भूकम्प पीडितले वडा कार्यालय मार्फत नै एउटा कवुलित नामा भरी हस्ताक्षर गरेर तेस्रो किस्ताको रकम पाउने छ ।
नगरपालिकाको केन्द्र बाघखोरसम्म पुग्न अपायक हुनु, जाने बाटो समेत बिग्रनु लगायतका कारण वडा कार्यालयबाटै हुने तेस्रो किस्ताको वितरणले एकल महिला, वृद्ध लगायतका अझै राहत मिल्ने अपेक्षा गरिएको ३ नम्बर वडाकी भूकम्पपीडित रत्नकुमारी मुडभरीले बताइन । मुडभरीमात्रै होइन नगरपालिकाको वडा कार्यालयले भनेको जस्तो गरी व्यवहारमा सहजीकरण गरिदिने हो भने सबै भूकम्प पीडितले थप राहतको महशुष गर्ने निश्चित छ ।
प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार ०९:३४












